रुबीको हत्या स्वीकारेर आत्महत्या प्रयास गरेका लक्ष्मण पासवानलाई उद्धार गरी उपचारका लागि काठमाडौं पठाइएको थियो । उपचारकै क्रममा बुधबार राति मृत्यु भएका उनको शव चार दिन उतै रहेको थियो ।
What you should know
रौतहट — माधवनारायण नगरपालिका–६ माधोपुरकी ३० वर्षीया रुवी साहको हत्या प्रकरणमा संलग्न लक्ष्मण पासवानको शव शनिबार काठमाडौँबाट रौतहटस्थित माधोपुर घर ल्याइँदै छ ।
रुबीको हत्या पछि अपराध स्वीकारेर आफू पनि आत्महत्याको प्रयास गर्दा गम्भीर घाइते भएका लक्ष्मणलाई स्थानीय र प्रहरीले उद्धार गरी कीर्तिपुरस्थित बर्न अस्पताल पठाएका थिए । उपचारको क्रममा बुधबार राति मृत्यु भएको पासवानको शव चार दिन उतै थियो ।
लक्ष्मणका बुबा जयनाथ पासवानले काठमाडौँबाट छोराको शव ल्याउन आर्थिक संकट परेको भन्दै माधवनारयण नगरपालिकाका नगरप्रमुख वैजनाथ यादव लगायतका जनप्रतिनिधि गुहारेका थिए । लक्ष्मणको आत्महत्याको प्रयासपछि मृत्यु भएको हो । उनको परिवार आर्थिक रूपमा कमजोर छ । माधवनारायण– ६ माधोपुर घरभएका लक्ष्मणको काठमाडौँबाट शव ल्याउन नगरप्रमुख यादवको सहयोगमा बोलबम कबरिय संघका महासचिव नरेन्द्र ठाकुरले एम्बुलेन्सको व्यवस्थापन गरेका थिए । ‘आर्थिक अवस्था निकै कमजोर लक्ष्मणको शव रौतहट लैजान समस्या परेको थियो,’ उनले भने,‘हामीले एम्बुलेन्सको व्यवस्था गरी पठाएका छौ ।’ लक्ष्मणको शव लिन गाउँबाट आफन्त र दलित पत्रकार सघका मधेशप्रदेश सदस्य सुबासाहेब पासवान काठमाडौँ गएका थिए ।
गएको शनिबार साँझ सदरमुकाम गौरस्थित बालमन्दिर पछाडि डेरामा बोलाई रुबीको हत्या गरी सुटकेसभित्र राखी सडकमा छाडेर लक्ष्मण फरार भएका थिए । घटनाको तीन दिनपछि बुधबार बिहान लक्ष्मणले माधोपुरस्थित घरनजिक बाटोमा पेट्रोल छर्की आत्महत्याको प्रयास गर्दै शरीरमा आगो लगाएका थिए । अनुहार र शरीरमा आगो सल्केर गम्भीर घाइते भएका लक्ष्मणको उपचारका क्रममा सोही राति कीर्तिपुर अस्पतालमा मृत्यु भएको हो ।
