वीरगन्जमा हैजा नियन्त्रण नहुँदा विद्यालय फेरि तीन दिन बन्द

महानगर प्रमुख राजेशमान सिंहको अध्यक्षतामा शनिबार बसेको बैठकले आइतबारदेखि मंगलबारसम्म सम्पूर्ण सरकारी तथा निजी विद्यालय, कोचिङ सेन्टर र इन्स्टिच्युट बन्द गर्ने निर्णय गरेको हो । यसअघि भदौ ८ र ९ गते पहिलो पटक र भदौ ११ देखि १३ सम्म दोस्रो पटक विद्यालय बन्द गरिएको थियो ।

भाद्र १४, २०८२

शंकर आचार्य

Due to lack of cholera control in Birgunj, schools are closed for three more days

What you should know

पर्सा — वीरगन्ज महानगरपालिकामा हैजाको प्रकोप नियन्त्रणमा नआएपछि विद्यालयहरू फेरि तीन दिनका लागि बन्द हुने भएका छन् ।

महानगर प्रमुख राजेशमान सिंहको अध्यक्षतामा शनिबार बसेको बैठकले आइतबारदेखि मंगलबारसम्म सम्पूर्ण सरकारी तथा निजी विद्यालय, कोचिङ सेन्टर र इन्स्टिच्युट बन्द गर्ने निर्णय गरेको हो । यसअघि भदौ ८ र ९ गते पहिलो पटक र भदौ ११ देखि १३ सम्म दोस्रो पटक विद्यालय बन्द गरिएको थियो । तर हैजाको संक्रमण अझै नियन्त्रणमा नआएको निष्कर्ष निकाल्दै यसपटक पनि विद्यालय बन्दको अवधि थपिएको हो ।

महानगरले बन्द अवधिमा विद्यालयहरूलाई शौचालय तथा खानेपानीको ट्यांकी सफा गर्न, क्लोरिन प्रयोग गरी पानी शुद्धीकरण गर्न, स्वास्थ्य संस्थासँग समन्वय गर्न र विद्यार्थीहरूको स्वास्थ्य अवस्थाबारे जानकारी गराउन निर्देशन दिएको छ । यस्तै, हैजा नियन्त्रणका लागि महानगरले विभिन्न कदम चालेको छ । 

स्ट्रिट फुड, पानीपुरी, चाट, पुच्का, भाजा आदिमा पूर्ण प्रतिबन्ध लगाइएको छ भने टोल–टोलमा स्वास्थ्यकर्मी परिचालन गरी 'पानी उमालेर मात्र पिउनु, फलफूल तरकारी राम्ररी धोएर पकाएर खानु, काँचो वा बासी खाद्यपदार्थ नखानु र व्यक्तिगत सरसफाइमा ध्यान दिनु' भन्ने सन्देशसहित जनचेतना अभियान तीव्र पारिएको छ ।

महानगरका शैक्षिक प्रशासन महाशाखाका प्रमुख आनन्द लामिछानेका अनुसार विद्यालय बन्द अवधिमा शिक्षक तथा कर्मचारीले समुदायस्तरमा जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएकोमा यसलाई निरन्तरता दिन निर्देशन दिइएको छ । महानगरले हैजा तथा झाडापखालाका बिरामीहरूको निःशुल्क उपचारको व्यवस्था गरेको छ । बोरिङ र खानेपानी संस्थानमार्फत वितरण हुने पानीको पाइपलाइन व्यवस्थापनमा विशेष ध्यान दिइएको जनाएको छ ।

शंकर आचार्य

Link copied successfully