भूमि विधेयकले भूमिहीन, सुकुम्बासी र किसानको हितमा नभई दलाल तथा भूमाफियाहरूलाई फाइदा पुग्ने गरी ल्याइएको आरोप उनीहरूको छ ।
सिरहा — भूमिसम्बन्धी विधेयकको विरोधमा मिर्चैयामा प्रदर्शन भएको छ । जनता समाजवादी पार्टी, नेपालले शनिबार विधेयकको विरोधमा प्रदर्शन गरेको हो ।
जिल्लाका विभिन्न स्थानबाट भेला भएका नेता, कार्यकर्ताले मिर्चैयास्थित राजमार्ग हुँदै विभिन्न भागमा र्याली प्रदर्शन गरे । भूमि विधेयक अविलम्ब फिर्ता लिनुपर्ने माग उनीहरूले गरेका छन् ।
भूमि विधेयकले भूमिहीन, सुकुम्बासी र किसानको हितमा नभई दलाल तथा भूमाफियाहरूलाई फाइदा पुग्ने गरी ल्याइएको आरोप उनीहरूको छ । जसपा नेपालका केन्द्रीय सचिव सुरेशकुमार मण्डलले विधेयक खारेज नभए मधेशले कडा प्रतिवाद गर्ने चेतावनी दिए । 'मधेशको जमिन दलाल पुँजीपतिहरूलाई सुम्पिने र मधेशीलाई कमजोर बनाउने षड्यन्त्र हामीले सफल हुन दिँदैनौं,' उनले भने, 'खसवादी राज्यसत्तासँग मधेश सधैं लडेकै छ, यो विधेयकको पनि कडा प्रतिवाद हुन्छ ।'
