चालु आर्थिक वर्षका लागि सरकारले ल्याएको बजेट त्रुटिपूर्ण भन्दै प्रतिपक्षी दलले विरोध गर्दै आएका छन् ।
What you should know
जनकपुरधाम — मधेश प्रदेशसभाको अवरोध हटाउन आहृवान गरिएको सर्वदलीय बैठक प्रतिपक्षी दलले आज पनि बहिष्कार गरेका छन् । प्रमुख प्रतिपक्ष जनता समाजवादी पार्टी (जसपा) नेपालसँगै ६ दलले बैठक बहिष्कार गरेका हुन् ।
बिहीबार पनि यी दलले सर्वदलीय बैठक बहिष्कार गरी प्रदेशसभामा अवरुद्ध गरेका थिए । अर्थमन्त्री सुनिलप्रसाद यादवको राजीनामा नआएसम्म सदन चल्न नदिने जसपा नेपालका प्रमुख सचेतक रामअशिष यादवले जानकारी दिए । ‘प्रतिपक्षले मात्रै होइन सत्तापक्षकै सांसदहरुले चोरबाटोबाट ल्याएको योजना खारेज गर्न माग गरेको थियो । प्रतिपक्षको अनुपस्थितिमा बजेट पारित नगर्न बताएको थियो,’ उनले भने, ‘तर सरकारले एक्लौटी गर्यो । सोही कारण हामी अर्थमन्त्री राजीनामा नदिएसम्म विरोध गरिरहन्छौं ।’
अहिले जनमत पार्टीको नेतृत्वको नेकपा एमाले, नेपाली कांग्रेस र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) सरकारमा छ भने जसपा नेपाल, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, नागरिक उन्मुक्ति पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र नेपाल संघीय समाजवादी पार्टी प्रतिपक्षमा रहेका छन् । बैठकमा प्रतिपक्षी दल अनुपस्थित भएपछि कुनै पनि सहमति हुन नसकेको जनमत पार्टीका प्रमुख सचेतक चन्दनकुमार सिंहले जानकारी दिए ।
चालु आर्थिक वर्षको लागि सरकारले ल्याएको बजेट त्रुटिपूर्ण र चोरबाटोबाट ल्याएको भन्दै प्रतिपक्षले विरोध गर्दै आएका छन् । प्रदेशसभामा प्रस्तुत भएको ‘रेडबुक’ र बजेट सूचना प्रणालीमा दर्ता भएको रेडबुकको योजना फरक–फरक भएकाले अर्थमन्त्री सुनिलकुमार यादवले राजीनामा दिनुपर्ने प्रतिपक्षको अडान छ । प्रतिपक्षी दलको बहिष्कार सरकारले प्रतिपक्षको अनुपस्थितिमा बजेट पारित गराएका थिए ।
