महेन्द्र विन्देश्वरी क्याम्पसमा विद्यार्थीको ताला, कर्मचारी थुनिए

बीएड चौथो वर्षको नतिजामा सबै विद्यार्थीलाई प्रयोगात्मक परीक्षामा अनुपस्थित देखाएपछि उनीहरु आक्रोशित बनेका हुन् ।

भाद्र १३, २०८२

विद्यानन्द राम

Mahendra Vindeshwari campus students locked, staff locked

राजविराज — कर्मचारीको स्वार्थ पूरा नहुँदा नतिजामा प्रयोगात्मक परीक्षाको अंक समावेश नगराएको भन्दै विद्यार्थीले शुक्रबार महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पस राजविराजको शिक्षा शास्त्र संकाय र परीक्षा शाखामा तालाबन्दी गरेका छन् । बिहीबार बीएड चौथो वर्षको नतिजा सार्वजनिक भएको थियो ।

नतिजामा सबै विद्यार्थीलाई प्रयोगात्मक परीक्षामा अनुपस्थित देखाएपछि उनीहरु आक्रोशित बनेका हुन् । शिक्षा शास्त्र संकायका प्रमुख रामअषिश यादव र परीक्षा शाखाका प्रमुख चन्देश्वर यादवको स्वार्थ पूरा नहुँदा प्रयोगात्मक परीक्षाको अंक समावेश नगराएको स्वतन्त्र विद्यार्थी युनियन राजविराज क्याम्पसका सभापति रञ्जितकुमार यादवले बताए । 

बाध्य भएर दुवै शाखामा तालाबन्दी गरेको भन्दै नतिजामा अंक समावेश नगराएसम्म तालाबन्दी जारी राख्ने उनीहरुको अडान छ । तालाबन्दीले परीक्षा शाखाका कर्मचारी भित्रै थुनिएका छन् भने विद्यार्थी शाखा अगाडि धर्ना बसिरहेका छन् ।  

क्याम्पस प्रमुख सुशीलचन्द्र कर्णले प्रयोगात्मक परीक्षाको अंक समावेश गराउनका लागि समन्वयन भइरहेको बताए । बीएड चौथो वर्षमा एक सय ३० जना विद्यार्थी परीक्षामा सहभागी भएका थिए । 

विद्यानन्द विद्यानन्द राम कान्तिपुरका सप्तरी संवाददाता हुन् । उनी समसामयिक बिषयमा रिपाेर्टिङ गर्छन् ।

Link copied successfully