वीरगन्जमा हैजाको भ्याक्सिन लगाउन सक्दो पहल गर्ने छु : कांग्रेस महामन्त्री थापा

विश्व स्वास्थ्य संगठन र संघीय मन्त्रालयसँग समन्वय गरेर हैजाको भ्याक्सिन लगाउन पहल गर्ने प्रतिबद्धता गगन थापाले गरेका छन् ।

भाद्र १३, २०८२

शंकर आचार्य

I will make every effort to apply cholera vaccine in Birgunj: Congress General Minister Thapa

What you should know

पर्सा — नेपाली कांग्रेसका महामन्त्री एवम् संघीय सरकारका पूर्व स्वास्थ्यमन्त्री गगन थापाले वीरगन्जमा हैजाको भ्याक्सिन लगाउन आफूले सक्दो पहल गर्ने प्रतिबद्धता जनाएका छन् । शुक्रबार हैजा तथा झाडापखालाका बिरामीको अवस्था बुझ्न अस्पताल आइपुगेका थापाले त्यसपछि आयोजित सरोकारवालाहरूसँगको भेटघाट तथा छलफल कार्यक्रममा यस्तो बताएका हुन् ।

‘हैजा विरुद्ध भ्याक्सिनको आवश्यकता भए म त्यसका लागि आवश्यक पहल गर्ने छु,’ उनले भने, ‘विश्व स्वास्थ्य संगठन तथा संघीय स्वास्थ्य मन्त्रालयसँग तत्कालै समन्वय गरेर यहाँ भ्याक्सिन सञ्चालन गर्न आवश्यक पहल गर्ने छु ।’

कोरोनाकालमा संघीय सरकारले वीरगन्ज भन्सार परिसरमा निर्माण गरेको होल्डिङ सेन्टर प्रयोगमा ल्याउन आवश्यक देखिए आफूले त्यसका लागि पहल गर्ने थापाले प्रतिबद्धता जनाए । ‘यहाँ समुदायस्तरमै कोरोना फैलिएर नारायणी अस्पतालले चाप थेग्न नसके यहाँस्थित होल्डिङ सेन्टर प्रयोगमा ल्याउन आवश्यक पहल गर्ने छु,’ उनले भने, ‘अस्पतालले झाडापखाला र हैजाका सबै बिरामीलाई निःशुल्क र गुणस्तरीय सेवा दिनु पर्छ ।’

थापाले नारायणी अस्पतालको ५ सय शय्याको भवन हालसम्म निर्माण हुन नसकेकोमा दुःख व्यक्त गर्दै प्राविधिक कारणले उक्त भवन निर्माणको काम अड्किएकोमा चिन्ता व्यक्त गरे । ‘हाम्रै दलका नेता स्वास्थ्य मन्त्री हुनुहुन्छ,’ उनले भने, ‘मैले प्रदीप पौडेल मन्त्री हुनुभएको पहिलो दिनमै नारायणी अस्पतालको भवन निर्माण कार्यलाई प्राथमिकतामा राख्न उहाँलाई सुझाव दिएका थिए ।’

थापाले नारायणी अस्पतालको सरसफाइ कार्यलाई प्राथमिकतामा राख्न अस्पताल व्यवस्थापनलाई सुझाव दिए । ‘म स्वास्थ्य मन्त्री हुँदा वीर अस्पतालको सरसफाइ गर्न नसकेको कुरा स्विकारेको छु,’ उनले भने, ‘हैजाको प्रकोप फैलिएको समयमा नारायणी अस्पतालको पनि सरसफाइ आवश्यक रहेको मैले देखे ।’

यसअघि थापाले अस्पतालमा भर्ना रहेका झाडापखाला र हैजाका बिरामीलाई भेटेर उनीहरूको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका थिए ।

शंकर आचार्य कान्तिपुरका पर्सा संवाददाता हुन् ।

Link copied successfully