मधेश प्रदेशसभाको छैटौं अधिवेशन आजदेखि, प्रतिपक्षी दलको अवरोध कायमै रहने

सरकारले चालु आर्थिक वर्षको बजेट प्रतिपक्षको अनुपस्थिति र असहमतिमा पास गरेको थियो ।

भाद्र १२, २०८२

कमलेश ठाकुर

From today, the sixth session of the Madhesh Pradesh Assembly, the obstruction of the opposition parties will continue

जनकपुरधाम — मधेश प्रदेशसभाको छैटौं अधिवेशन आजदेखि सुरु हुँदै छ । प्रदेशसभाले बिहीबार दिउँसो १ बजेका लागि बैठक आहृवान गरेको हो । तर, बैठक अगावै राखिएको सर्वदलीय बैठक प्रतिपक्षी दलले बहिष्कार गरेका छन् ।

सभामुख रामचन्द्र मण्डलले बुधबार परामर्श समितिको बैठक बसाएका थिए । त्यहाँ पनि प्रतिपक्षी दलका नेताहरुले प्रतिपक्षको अनुपस्थितिमा बजेट पास गरेको भन्दै असन्तुष्टि जनाएको नेकपा माओवादी केन्द्रका नेता युवराज भट्टराईले जानकारी दिए । ‘हिजोको समस्या समाधान नगरी प्रदेसभा सञ्चालन प्रतिपक्षलाई मान्य छैन भनेर हामीले आपत्ति जनाऔं,’ उनले भने, ‘बजेट पास गर्ने बेला प्रतिपक्ष चाहिएन भने अहिले किन चाहियो ?’

सर्वदलीय बैठक प्रमुख प्रतिपक्षी जनता समाजवादी पार्टी (जसपा) नेपाल, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, नेपाल संघीय समाजवादी र राप्रापाले बहिष्कार गरेको उनले जानकारी दिए । आज प्रदेशसभा बैठक पनि बहिष्कार गर्ने उनले बताए । सरकारले चालु आर्थिक वर्षको बजेट प्रतिपक्षको अनुपस्थिति र असहमतिमा पास गरेको थियो ।

आज बिहान ९ बजेदखि सर्वदलीय बैठक राखिएको थियो । सभामुख रामचन्द्र मण्डलले पनि सर्वदलीय बैठकमा ५ वटा प्रतिपक्ष दलका नेता नआएको जानकारी दिए । तर, नागरिक उन्मुक्ति पार्टीको सांसद उर्मिला सिंह उपस्थित रहेको उनले बताए ।

आजको बैठकमा शुभकामना मन्तव्य, महालेखापरीक्षकको छैटौँ र सातौँ वार्षिक प्रतिवेदन सभामा पेस गर्ने र विषयगत समितिका वार्षिक प्रतिवेदन सभामा पेस गर्ने कार्यसूची रहेको छ । 

कमलेश कमलेश कान्तिपुरका धनुषा संवाददाता हुन् । उनी समसामयिक विषयमा रिपाेर्टिङ गर्छन् ।

Link copied successfully