जहाँ गाउँले सुतेपछि जाग्छन् तस्कर

तस्करहरू सामान वारपार गर्न भरिया, साइकल, मोटरसाइकल, अटो रिक्सा, पिकअपदेखि बससम्म प्रयोग गर्छन् । दैनिक करोडौंको सामान अवैध ढंगले तस्करी हुने गरे पनि प्रहरी प्रशासनले देखेको नदेखेजस्तै गरेको स्थानीय बासिन्दाको भनाइ छ ।

भाद्र ८, २०८२

विनय आजाद

Where villagers wake up after sleeping, smugglers

What you should know

सिरहा — सिरहाको सीमावर्ती गाउँ बुधौराका स्थानीयको एकै गुनासो छ- हामी राति राम्रोसँग सुत्न पाउँदैनौं । कारण हो, जब रात पर्छ, तब यहाँ सवारीसाधन र मान्छेको कोलाहल सुरु हुन्छ । स्थानीयका अनुसार, दिनको समय यहाँ खासगरी मदिरा भण्डारण हुन्छ र रात परेपछि भारत तस्करी हुन्छ ।

सीमा छेउमै पर्ने अभयनगरका बासिन्दा पनि त्यस्तै समस्याले पीडित छन् । तस्करहरूले गाउँलाई पछिल्लो समय भण्डारणस्थल बनाएको स्थानीयको आरोप छ । तस्करी गर्ने गिरोहहरूले रातमा सामान ल्याएर यहाँ भण्डारण गर्ने र दिनमा यहाँबाट ढुवानी गर्ने गरेको स्थानीय बताउँछन् ।

यी दुई गाउँ उदाहरण हुन्, जिल्लाका सीमा क्षेत्रका सबैजसो गाउँका सर्वसाधारणको अनुभव यस्तै छ । पछिल्लो समय जिल्लाका नाकाहरूमा निर्बाध तस्करी फस्टाएको छ । 'जब मान्छे सुत्छन्, अनि तस्करहरू जाग्छन्,' बरियारपट्टीमा भेटिएका औरही गाउँपालिकाका सुरज महतोले भने, 'यसले राज्यलाई मात्र क्षति भएको छैन, यहाँका मान्छे पनि आतंकित छन् ।'

सुरजले कान्तिपुरसँग डरलाग्दो अनुभव पनि सुनाए । गत साता राति पौने १२ बजे उनी लहान-भगवानपुर सडक हुँदै लहानबाट फर्किँदै थिए । महेशवारी नजिकै उच्च गतिमा लहानतिर गइरहेको पिकपको ठक्करबाट आफू बालबाल जोगिएको उनले बताए । 

Where villagers wake up after sleeping, smugglers

'मैले मेरो मोटरसाइकल तल खेततिर हुँइक्याएँ, त्यसो नगरेको भए उडाउँथ्यो पिकअपले, बालबाल जोगिएँ,' उनले भने, 'पिकअपमा खसीबाख्रा चिच्याइरहेको थियो ।' उनका अनुसार, भारतमा सस्तो पर्ने खसी बाख्रा यो सडकबाट दिनहुँ रातिको समयमा तस्करी भएर आउँछ ।

भगवानपुरका मोहन यादवका अनुसार, सिरहाको माडर, ठाडी, बरियारपट्टी, चतरी नाका हुँदै चिनी, दाल, चामल, आलु, प्याज, कपडा, लागुऔषध, गुट्खा, मोटरपार्ट्स, कस्मेटिक्स, बाख्रा, खसी, माछालगायतका सामान भारतबाट नेपालतिर तथा गाँजा, ग्यास लाइटर, चिनियाँ स्याउ, मरिच, मदिरा लगायतका सामान नेपालबाट भारत तस्करी हुँदै आएको छ ।

तस्करहरूले सामान वारिपारि गर्नका लागि भरिया, साइकल, मोटरसाइकल, अटो रिक्सा, पिकअपदेखि बससम्म प्रयोग गर्ने गरेका छन् । यसरी दैनिक करोडौंको सामान अवैध ढंगले तस्करी हुने गरेको भए पनि प्रहरी प्रशासन भने देखेर पनि नदेखेकोजस्तो गर्ने गरेको ठाडीका रामेश्वर साहको आरोप छ ।

'दैनिक करोडौंको सामान तस्करी हुन्छ, राज्यलाई घाटा भयो भनेर हामीलाई बोल्न मिल्दैन, किनकि धाकधम्की आइहाल्छ,' उनले प्रश्न गरे, 'पुलिस प्रशासन नै मिलेपछि कसको के लाग्छ, प्रशासन इमानदार हुने हो भने कसको हिम्मत छ तस्करी गर्ने ?'

Where villagers wake up after sleeping, smugglers

सीमामा तस्करी नियन्त्रणका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग, भन्सार कार्यालयलगायतका कर्मचारी औपचारिक रुपमा खटिएका हुन्छन् । यसका अलावा सुरक्षा निकायले सीमामा 'घुमुवा' पनि परिचालन गरेको हुन्छ । तर, घुमुवाहरूको तस्करी गर्नेहरूसँगै हिमचिम हुने र उनीहरूको काम तस्करी नियन्त्रण नभई लाइन मिलाउने तथा असुली गर्ने रहेकोे कुसन्डीका अरविन्द मण्डलको आरोप छ । उनका अनुसार, खासगरी व्यावसायिक ढंगले तस्करी गर्नेहरूले सरकारी निकायलाई महिनावारी बुझाएर तस्करी गर्छन् । 

यस्तै, घरायसी उपभोगका लागि वा बेच्नकै लागि कहिलेकाहीँ सामान ल्याउनेहरूसँग ड्युटीका प्रहरी तथा भन्सार कर्मचारीले हाकाहाकी पैसा लिने गरेका छन् । भारतबाट बरियारपट्टी नाका हुँदै दुई बोरा प्याज लिएर आइरहेका अर्नामाका रामपत यादवले बरियारपट्टी चेक पोष्टमा एक सय रुपैयाँ प्रहरी र एक सय रुपैयाँ भन्सारका कर्मचारीलाई दिनुपरेको बताए । 

सिरहाका प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्याल भने तस्करीमा संस्थागत संलग्नता हुने कुरा अस्वीकार गर्छन् । तस्करी गर्ने गिरोहको ठूलो सञ्जाल हुने र पर्याप्त जनशक्ति नहुँदा तस्करी नियन्त्रण चिन्ताको विषय बन्दै आएको उनको भनाइ छ ।

Where villagers wake up after sleeping, smugglers

'तस्करीमा संस्थागत संलग्नताको कुरा कल्पना पनि गर्न सकिन्न, हामीले सधैंभरि तस्करी नियन्त्रणका लागि नै प्रयत्न गरेका हौं,' उनले कान्तिपुरसित भने, 'तस्कर गिरोहहरूको ठूलो सञ्जाल हुने र हामीसँग त्यसअनुसारको पर्याप्त जनशक्ति नहुने कारणले यो जटिल देखिएको छ, तस्करी नियन्त्रणमा सबैको सहयोग उत्तिकै आवश्यक छ ।'

तस्करी बढ्दा घट्यो राजस्व 

जिल्लामा यसरी तस्करी फस्टाउँदा राजस्व संकलनमा भने गिरावट आएको छ । चालू आर्थिक वर्ष २०८२/८३ को साउन महिनामा लक्ष्यको ६३ प्रतिशत मात्र राजस्व संकलन भएको सिरहा भन्सार कार्यालय, माडरले जनाएको छ ।

भन्सार कार्यालयका अनुसार, साउन महिनाको राजश्व संकलन लक्ष्य १ करोड ४३ लाख ६० हजार रहेकामा ९० लाख ७६ हजार मात्र राजश्व संकलन भएको छ । भन्सारले गत वर्ष १२ करोड १२ लाख ९२ हजार राजस्व संकलनको लक्ष्य राखेकामा १४ करोड ८३ लाख ६१ हजार राजस्व संकलन गरेको थियो ।

विनय आजाद कान्तिपुरका सिराहा संवाददाता हुन् ।

Link copied successfully