वीरगन्जको हैजा प्रभावित क्षेत्रबाट पानीको नमुना संकलन, ४१ जनामा संक्रमण पुष्टि

वीरगन्जस्थित दर्जनभन्दा बढी अस्पतालमा १ सय २९ झाडापखाला तथा हैजाका बिरामी उपचाररत छन् ।

भाद्र ८, २०८२

शंकर आचार्य

Collection of water samples from cholera-affected areas of Birgunj, infection confirmed in 41 people

What you should know

पर्सा — वीरगन्जको हैजा प्रभावित क्षेत्रबाट पानीको नमुना संकलन गरिएको छ । खानेपानी मन्त्रालय प्रादेशिक कार्यालय जनकपुरबाट आएको प्राविधिक टोलीले शनिबार वीरगन्ज महानगरको ११, १२ र १३ नम्बर वडाबाट खानेपानी संस्थान वीरगन्ज शाखाले वितरण गरेको पानीको नमुना संकलन गरेर लगेको हो ।

शाखाका सूचना अधिकारी एवं इन्जिनियर सञ्जीव यादवका अनुसार तीनवटै वडाका विभिन्न स्थानका १५ वटा धाराबाट पानीको नमुना संकलन गरिएको छ । ‘जनकपुरबाट पानी परीक्षण घुम्ती सेवाको टोली नै आइपुगेको थियो,’ उनले भने, ‘तीन वटा वडाका विभिन्न स्थानबाट नमुना संकलन गरी शनिबार साँझ नै टोली जनकपुर फर्किएको छ ।’ अब जनकपुरस्थित संस्थानको प्रादेशिक प्रयोगशालमा पानीमा कोलिफर्मको परीक्षण गरिने उनले बताए । ‘कोलिफर्म परीक्षणबाट पानीमा कुनकुन रोगका किटाणु छन् यकिन हुन्छ,’ उनले भने, ‘सम्भवतः आइतबार साँझसम्ममा परीक्षणको नतिजा आउन सक्छ ।’

वीरगन्जस्थित दर्जनभन्दा बढी अस्पतालमा १ सय २९ झाडापखाला तथा हैजाका बिरामी उपचाररत छन् । तीमध्ये ४१ जनामा हैजा संक्रमण पुष्टि भइसकेको छ । शनिबार रातिसम्म ती अस्पतालमा ९२ जना उपचारका लागि भर्ना भएकोमा आइतबार १ सय २९ जना भर्ना भइसकेका छन् ।

नारायणी अस्पतालमा ३३ जना भर्ना भएकामा १५ जनामा हैजा संक्रमण पुष्टि भएको छ । तराई अस्पतालमा ३५ जना भर्ना भएकामा १२ जनामा हैजा संक्रमण पुष्टि भएको छ । एड्भान्स अस्पतालमा १४ जना भर्ना भई उपचाररत छन् । नेसनल मेडिकल कलेजमा १४ जना भर्ना भएकोमा ६ जनामा हैजा संक्रमण पुष्टि भएको छ ।

आशाराम, भवानी र अली अर्थो अस्पतालमा २/२ जना उपचाररत रहेकामा भवानी र अली अर्थो अस्पतालका २/२ जनामा हैजा संक्रमण पुष्टि भएको छ । प्रभु र सर्वोत्तम अस्पतालमा ४/४ जना झाडापखालाका बिरामी उपचाररत छन् । सूर्या अस्पतालमा १ जना झाडापखालाका बिरामी उपचाररत छन् । नारायणी सेन्टर अस्पताल र मंगलम अस्पतालमा २/२ जना संक्रमित पुष्टि भएका छन् । अधिकांश बिरामी वीरगन्ज महानगरपालिका वडा नं. ११, १२, १६ र १८ का हुन् ।

अस्पतालमा भर्ना भएका हैजा संक्रमितमध्ये एक जनामात्र उपचारपछि घर फर्किएका छन् । हैजा संक्रमण फैलिने मुख्य कारण तथा स्रोतको बारेमा अनेक अड्कलबाजी भइरहे पनि आधिकारिक रूपमा अझै पनि हैजाको मुख्य स्रोतबारे जानकारी आउन सकेको छैन ।

हैजाबाट हालसम्म कसैको मृत्यु नभएको स्थानीय प्रशासनको दाबी छ । दुई जनाको मृत्यु हैजासँग मिल्दोजुल्दो लक्षण भएको रोगबाट भए पनि तिनको स्वास्थ्य परीक्षण नगरिएकाले तिनको मृत्युको कारण हैजानै हो भनी यकिन गर्न नसक्ने दाबी प्रशासनको रहँदै आएको छ । शुक्रबार वीरगन्जको नारायणी अस्पताल र वीरगन्ज हेल्थ केयर अस्पतालमा वीरगन्जकै ३५ वर्षीय युवक र १९ वर्षीया युवतीको मृत्यु भएको थियो ।

शंकर आचार्य

Link copied successfully