समग्र परिवर्तन र समानताको पक्षधरको रुपमा पनि गिरीलाई सम्झिइरहने वक्ताहरूले बताएका छन् ।
पर्सा — प्रदीप गिरीलाई राजनीतिक दलको दायराभन्दा माथि राखेर हेर्नुपर्ने धारणा वक्ताहरुले व्यक्त गरेका छन् । प्रदीप गिरी इन्ष्टिच्युटको आयोजनामा शनिबार वीरगन्जमा आयोजना गरिएको ‘उत्साह र संघर्षको आलोकमा प्रदीप गिरीको सम्झना’ शीर्षकको कार्यक्रमका वक्ताले यस्तो धारणा व्यक्त गरेका हुन् ।
भाष्कर गौतमले सञ्चालन गरेको पहिलो सत्रका वक्ता हरि शर्माले गिरीलाई सिस्टमभित्रको विद्रोहीका रुपमा चित्रण गरे । उनले गिरी विचार दृष्टिको सन्दर्भमा परिधिभन्दा बाहिरको कुरा गर्ने नेता रहेको बताउँदै गिरी कल्पनामा पनि उडिरहन सक्ने व्यक्तित्व रहेको बताए । गिरीलाई माटोमा अडिएको मान्छेका रुपमा आफूले देखेको बताउँदै शर्माले समग्र परिवर्तन र समानताको पक्षधरको रुपमा पनि गिरीलाई सम्झिरहेको बताए । गिरी जातले मात्र नभई विचारले पनि जोगी रहेको उनले टिप्पणी गरे ।
अर्की वक्ता डा सुचिता पौडेलले गिरीलाई महिलावादी नेताको रुपमा चित्रण गरिन् । ‘उहाँको समग्र विचारमा महिला समानताको विषय पनि झल्किन्थ्यो,’ उनले भनिन्, ‘पितृसत्तात्मक सोच परिवर्तन हुनुपर्छ भन्ने उहाँको धारणा थियो ।’
विश्लेषक चन्द्रकिशोरले गिरीले सधैं समाजलाई जोड्ने कुरा गरेको बताए । २०६३ को परिवर्तनपछि गिरीमा एक खाले बेचैनी रहेको आफूले महसुस गरेको बताउदै उनले भारतमा पनि उनका समकक्षी नेता मात्र गिरीको राम्रो छाप र सम्बन्ध रहेको बताए ।
