वीरगन्जको मुर्ली टोलमा झाडापखालाका कारण ३० जना अस्पताल भर्ना भएका छन्, तीनमा हैजा पुष्टि भएको छ।
What you should know
पर्सा — वीरगन्ज महानगरपालिका–१२ मुर्लीको नयाँ टोलमा हैजाका बिरामी भेटिएका छन् । हैजाको संक्रमणबारे जानकारी पाएलगत्तै रोकथाम तथा नियन्त्रणका लागि वीरगन्ज महानगरले शुक्रबार रातिदेखि स्वास्थ्यकर्मीको टोली प्रभावित क्षेत्रमा परिचालन गरेको छ ।
महानगरको स्वास्थ्य महाशाखा तथा जिल्ला स्वास्थ्य कार्यालयका स्वास्थ्यकर्मी समेतको टोली नै संक्रमित क्षेत्र पुगेर अवस्थाको जानकारी लिनुका साथै स्थानीयलाई सतर्क गराउने कार्य सुरु गरेको छ ।
वीरगन्ज महानगरका प्रमुख राजेशमान सिंहका प्रेस सल्लाहकार नवराज फुयालका अनुसार, मुर्ली टोलका करिब ३० जना बासिन्दा झाडापखालाको कारण वीरगंजस्थित तराई अस्पतालमा भर्ना भएका थिए ।
एकैपटक ठूलो संख्यामा बिरामी आएपछि अस्पतालले शंकास्पद देखेर महानगरलाई खबर गरेको थियो । लगत्तै नारायणी अस्पताल र जिल्ला स्वास्थ्य कार्यालयसँगको समन्वयमा गरिएको परीक्षणमा तीन जनामा हैजाको जीवाणु भिब्रियो कोलेरा पाइएको हो ।
संक्रमितमध्ये १६ वर्षीय बालक, २४ वर्षीय युवक र २४ वर्षीय महिला रहेका छन् । तीमध्ये बालकको अवस्था गम्भीर रहेको महानगर स्वास्थ्य शाखा प्रमुख राजु शाहले जानकारी दिएका छन् ।
मुर्ली टोलका घरहरूमा प्रयोग भइरहेको पिउने पानीको नमुना थप परीक्षणका लागि काठमाडौंको टेकुस्थित स्वास्थ्य विज्ञान प्रयोगशालामा पठाइएको छ ।
हैजा फैलन नदिन र स्थानीयलाई सतर्क बनाउन शुक्रबार रातिदेखि नै स्वास्थ्यकर्मीहरूको टोली घर–घरमा पुगेको छ । टोलीले हैजाबाट जोगिने उपायहरूबारे जानकारी दिँदै कुनै पनि शंकास्पद बिरामी भेटिए तत्काल नजिकैको स्वास्थ्य संस्थामा लैजान आग्रह गरेको छ ।
सचेतना अभियानमा जिल्ला स्वास्थ्य कार्यालयका अधिकृत जयमोद ठाकुर, महानगरका जनस्वास्थ्य अधिकृत सुमनचन्द्र ठाकुरलगायतको टोली सक्रिय छ ।
स्वास्थ्य कार्यालय पर्साका अधिकृत ठाकुरले पर्सामा पछिल्लो एक दशक यता हैजाको प्रकोप देखिएको बताए । भिब्रियो कोलेरा नामक जीवाणु दूषित खाना वा पानीमार्फत शरीरमा प्रवेश गरेपछि हैजा लाग्ने गर्दछ ।
यस रोगका लक्षणमा निरन्तर झाडापखाला लाग्ने, वान्ता हुने, पेट दुख्ने, आँखा गाडिने, शरीरमा पानी कमी भई मांसपेसी दुख्ने र ज्वरो आउने जस्ता समस्या देखिने गर्छन् । समयमै उपचार नपाए मृत्यु समेत हुन सक्छ ।
महानगरले हैजाबाट जोगिनका लागि सबैलाई विशेष सतर्कता अपनाउन आह्वानसमेत गरेको छ । उमालिएको वा निर्मलीकरण गरिएको पानी मात्र पिउन, तरकारी तथा हरियो सागपात उमालेको पानीले पखालेर मात्र पकाएर खान, बासी खाना नखान, राम्ररी नपकाएको मासु वा माछा नखान, साबुनपानीले पटक–पटक हात धुन, खानपिनका भाँडाकुडा सफा राख्न र सफा शौचालय प्रयोग गर्न अनुरोध गरिएको छ ।
