मानव बेचबिखन आरोपमा एक महिला पक्राउ

प्रलोभन देखाएर महिलालाई भारत लैजाने क्रममा पक्राउ परेकी अभियुक्तविरुद्ध पाँच दिनको म्याद थप गरिएको छ।

भाद्र ५, २०८२

शंकर आचार्य

A woman was arrested for human trafficking

पर्सा — मानव बेचबिखन तथा ओसार पसार कार्यमा संलग्न भएको आरोपमा महिलालाई पर्सा प्रहरीले वीरगन्जबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा गोर्खाको गोरखा नगरपालिका–४ की २८ वर्षिया सीता सिर्मल छिन् ।

उनलाई प्रहरीले बुधबार दिउँसो २ बजेतिर वीरगन्ज–१६ स्थित नेपाल भारत सीमाबाट पक्राउ गरेको हो ।

नेपालको कास्की, झापा, काठमाडौं, धादिङ, चितवन, बाग्लुङ र मकवानपुर लगायतका जिल्लाहरुबाट सर्वसाधारण महिला तथा बालिकाहरूलाई राम्रो काम लगाइ दिने, नयाँ नयाँ लत्ताकपडाहरू खरिद गरिदिने, विवाहको प्रलोभनमा पार्ने र पैसा दिने जस्ता विभिन्न किसिमका प्रलोभन देखाई ललाई फकाई गरी तीन जना महिलाहरूलाई हेटौंडाबाट गाडी चढाइ वीरगञ्जमा ल्याइ वीरगञ्जबाट अटोमा भारतको रक्सौलतर्फ लाने क्रममा तत्कालै पीडितहरूलाई सकुशल उद्धार गरी सिर्मललाई प्रहरीले नियन्त्रणमा लिएको थियो । 

उनीविरुद्ध मानव बेचबिखन तथा ओसार पसार सम्बन्धी कसुरमा पर्सा जिल्ला अदालतबाट पाँच दिनको म्याद थप अनुमति लिइ अनुसन्धान कार्य भइरहेको पर्सा प्रहरीका प्रवक्ता डिएसपी किशोर लम्सालले जानकारी दिएका छन् ।

शंकर आचार्य कान्तिपुरका पर्सा संवाददाता हुन् ।

Link copied successfully