आफ्नै घरमा लागूऔषध गाँजा खरिद बिक्री गरिरहेको सूचना पाएपछि खानतलासी गर्न प्रहरी चौकी रंगपुर र इलाका प्रहरी चन्द्रनिगाहपुरको संयुक्त टोली खटेको थियो ।
रौतहट — रौतहटको गुजरा नगरपालिका–२ बाट इलाका प्रहरी चन्द्रनिगाहपुरले गाँजासहित एक जनालाई पक्राउ गरेको छ । गुजरा–२ का ५५ वर्षीय गोपालबहादुर थिङलाई गाँजासहित पक्राउ गरेको इलाका प्रहरी चन्द्रनिगाहपुरले जानकारी दिएको छ ।
थिङले आफ्नै घरमा लागू औषध गाँजा खरिद बिक्री गरीरहेको सूचना पाएपछि प्रहरी चौकी रंगपुर र इलाका प्रहरी चन्द्रनिगाहपुरको संयुक्त टोली खटेको थियो ।
प्रहरीले थिङको घर खनतलासी गर्दा कोठामा लुकाइराखेको ३ किलो ५० ग्राम लागूऔषध गाँजा फेला पारेको जनायो । खानतलासीको क्रममा प्रहरीले ७८ हजार नेपाली र ६ सय १० भारतीय रुपैयाँ फेला पारेको छ । पक्राउ परेका थिङसित प्रहरीले सोधपुछ गरिरहेको छ । उनले गाँजा कहाँबाट ल्याएको भन्नेबारे अहिले नै थाहा हुन नसकेको प्रहरीले जनायो ।
एक साताअघि धन्सार क्षेत्रमा इलाका प्रहरी चन्द्रनिगाहपुरको टोलीले बारा, निजगढ नगरपालिका–१२ का ३४ वर्षीय दीपक थिङलाई ९ किलो ७५० ग्राम गाँजासहित पक्राउ गरेको थियो ।
