गण्डक नहरको पानीको माग बढ्यो

साताअघि परेको पानी सुक्दै गएपछि दुई दिन यता नहरमा पुनः पानीको माग बढेको हो ।

भाद्र २, २०८२

शंकर आचार्य

Demand for Gandak Canal water increased

What you should know

पर्सा — सातायता राम्रोसँग वर्षा नभई पुनः खडेरीको संकेत देखिएपछि गण्डक नहरको सिञ्चित क्षेत्रमा पानीको माग फेरि बढेको छ ।

नारायणी सिँचाइ व्यवस्थापन कार्यालय वीरगन्जका सूचना अधिकृत इन्जिनियर सुरेशप्रसाद साहले साताअघि परेको पानी सुक्दै गएपछि दुई दिनयता नहरमा पुनः पानीको माग बढेको बताए । ‘साता अघिसम्म एक दुई दिन बिराएर मनसुनी वर्षा भएको थियो, सातायता भने भारी वर्षा भएको छैन,’ उनले भने, ‘प्रायः सबै किसानले रोपाइँ सकाएपछि धान बाली जोगाउन अब खेतमा पानी जम्नुपर्ने हुन्छ, त्यसकारण नहरको पानीको माग पुनः बढेको हो ।’ आफूलाई पानीका लागि विशेषगरी बाराबाट दैनिकजसो किसानको फोन आइरहेको उनले बताए ।

हाल नहरमा भारतीय पक्षले सरदर ७ सय क्युसेक पानी दिएको छ । नहरको ब्लक नम्बर १३ अर्थात् रौतहटको बंकुलभन्दा पूर्व पानी पुगेको छ । ब्लक नम्बर १३ को लम्बाइ ११ किलोमिटर रहेकोमा साढे ७ किलोमिटरसम्म पानी पुगेको छ । सोमबार नहरमा ६ सय ९२ क्युसेक पानी प्रवाह भइरहेको छ ।

भारतसँगको गण्डक सम्झौता बमोजिम भारतीय पक्षले नहरमा ८ सय ५० क्युसेक पानी दिनुपर्नेमा यस वर्ष ७ सय क्युसेकभन्दा बढी पानी दिएको छैन । नहर १५ ब्लकमा विभाजित छ । सम्झौता अनुसारको पानी नआउने र मर्मत सम्भार अभावमा समेत नहरको अन्तिम बिन्दु अर्थात् रौतहटको पूर्वी भेगसम्म नहरमा पानी नै पुग्दैन ।

नहर अन्तर्गत ३७ हजार ४ सय हेक्टर जग्गा सिञ्चित क्षेत्र रहेकोमा पर्सामा १६ हजार हेक्टर, बारामा ९ हजार हेक्टर र बाँकी रौतहटमा रहेको छ । सम्झौता अनुसार बर्सेनि धान बाली सिजनमा लागि असार १५ र गहुँ बालीका लागि पुस १० मा भारतीय पक्षले नहरमा पानी दिनुपर्छ । भारतले सम्झौता मितिमै पानी दिए पनि पानीको परिमाण भने सम्झौतामा उल्लेख भए जति अर्थात् ८ सय ५० क्युसेक हुने गरेको छैन ।

नवलपरासीको त्रिवेणी भैंसालोटनस्थित नेपाल भारत सीमामा निर्मित ब्यारेजबाट भारतीय पक्षले नहरमा पानी छोड्ने गर्छ । भारतमै ९२ किमी यात्रा गरेर यो नहर पर्साको जगरनाथपुर गाउँपालिकाबाट नेपाल प्रवेश गर्छ । पर्सा, बारा र रौतहटमा गरी १५ ब्लकमा विभाजित गण्डक नहरको लम्बाइ नेपालतर्फ भने ८१ किलोमिटर रहेको छ । नेपालमा रौतहटको बागमती नदीमा मिसिएर यो नहर समाप्त हुन्छ । 

शंकर आचार्य कान्तिपुरका पर्सा संवाददाता हुन् ।

Link copied successfully