गुठी संस्थानको जग्गामा तारबार गर्ने क्रममा नेपाल बार एसोसिएसनका वकिलहरूले पत्रकारमाथि आक्रमण गरी घाइते बनाएका थिए ।
जनकपुरधाम — वकिललाई कारबाहीको माग गर्नै जिल्ला प्रसाशन कार्यालय धनुषाअगाडि पत्रकारहरूले धर्ना दिएका छन् । आइतबार नेपाल पत्रकार महासंघ धनुषा शाखाको नेतृत्वमा धर्ना कार्यक्रम भएको हो ।
गत साउन २७ गते गुठी संस्थानबाट लिजमा प्राप्त गरेको ४ कट्ठा जग्गामा तारबार गर्ने क्रममा नेपालबार एसोसिएसन जनकपुरधामका पदाधिकारीसहितका वकिलहरूको एक समूहले पत्रकारमाथि आक्रमण गरेका थिए । वकिलको आक्रमणमा परेर महासंघका मधेश प्रदेश अध्यक्ष श्यामप्रसाद बनजारा, महासचिव शैलेन्द्र महतो, पत्रकार दिवाकर राय, अनिल निरालालगायतका पत्रकार घाइते भएका थिए ।
धर्नामा पत्रकारहरूले ‘पत्रकारमाथि आक्रमण गर्ने वकिलमाथि कारबाही गर, प्रेस स्वतन्त्रता कामय गर, वकिलको ददागिरी बन्द गर, प्रेस स्वतन्त्रता बचाऔं, लोकतन्त्र जोगाऔं, पत्रकारहरूलाई सुरक्षा देउ, प्रेसमाथिको दमन बन्द गर’ लगायतको प्ले कार्ड बोकेका थिए ।
साउन २८ गते जिल्ला प्रहरी कार्यालय धनुषामा घटनामा संलग्न पाँच जना वकिलविरुद्ध जाहेरी दिइए पनि प्रहरी प्रशासनको तर्फबाट कसैलाई पक्राउ गरिएको छैन । नेपाल पत्रकार महासंघ प्रदेश समितिले विधिवत रूपमा गुठी संस्थानसँग लिजमा लिएको जग्गामा नेपाल बार एसोसिएसन जनकपुरधामका पदाधिकारीहरूले जबर्जस्ती कब्जा गर्ने थालेको छ ।
