वीरगन्जमा ‘डिजिटल भौचर’ बाट निःशुल्क पानी

वीरगन्जका स्थानीयलाई डिजिटल भौचरमार्फत निःशुल्क पानी वितरण गर्न थालेपछि जनताले राहत महसुस गरेका छन्।

श्रावण ३१, २०८२

शंकर आचार्य

Free water with 'Digital Voucher' in Birganj

What you should know

पर्सा — भूमिगत जलसतह सुकेर काकाकुल बनेको वीरगन्जमा स्थानीयलाई पानी वितरण गर्न ‘डिजिटल वाटर भौचर’ प्रयोगमा ल्याइएको छ। गैरसरकारी संस्थाहरूको सहयोगमा सञ्चालित ‘सुक्खा र खडेरीबाट प्रभावित परियोजना’ अन्तर्गत नमुनाको रूपमा हरेक परिवारका सदस्यलाई ५ लिटरका दरले पानीको जार निःशुल्क वितरण थालिएको हो ।

बुधबारदेखि वीरगन्ज–११ कब्रिस्तान टोलका १ सय २० घरधुरीले यो सुविधा पाइरहेका छन् । शनिबार बिहान ६५ वर्षीय स्थानीय आसमहम्मद अन्सारीले आफ्नो परिवारका ६ सदस्यका लागि ३० लिटर खानेपानी पाए ।

उनको घरको चापाकल सुकेको एक महिना भइसकेको थियो । दैनिक मजदुरी गरेर गुजारा गर्ने उनीसँग बजारबाट जारको पानी किन्ने क्षमता थिएन । दैनिक ३० लिटर जारको खानेपानी निःशुल्क पाउन थालेपछि उनलाई हाइसन्चो भएको छ।

‘अब कम्तीमा खानेपानीको चिन्ता हटेको छ,’ उनले भने, ‘यसअघि हाम्रा जनप्रतिनिधिले अन्य टोलमा खानेपानीको बोरिङ गाडे तर हाम्रोमा गाडेनन्, अब कम्तीमा खानेपानीको चिन्ता दूर भएको छ ।’

अर्का स्थानीय कमरुद्दिन अन्सारीले पनि चार दिनयता दैनिक एक जार पानी निःशुल्क पाएका छन् । उनले किनेर पानी खानुपर्ने बाध्यता टरेको बताए । भूमिगत जलको स्रोत सुक्दा टोलमा पानीको अन्य विकल्प थिएन । पानीको छेलोखेलो गरेर हुर्केको उनको टोलका १ सय २० बढी घरधुरी काकाकुल थिए ।

बुधबारदेखि पियोर ड्रिकिङ वाटर कम्पनीले टोलवासीलाई दैनिक निःशुल्क पानी उपलब्ध गराउन थालेको हो । कम्पनीका प्रबन्धक प्रबिन कुशवाहाले पानी लिन आउने स्थानीयले ल्याउने डिजिटल वाटर भौचरलाई मेसिनमा स्क्यान गर्छन् । त्यसपछि स्थानीयले निःशुल्क पानी पाउँछन् । परिवार सदस्य संख्याको आधारमा स्थानीयले दैनिक जनही ५ लिटर निःशुल्क पानी पाउँछन् । खाली जार फिर्ता ल्याएर भोलिपल्ट फेरि भरिएको जारमा पानी लग्न पाउँछन् ।

डिजिटल भौचरको भरमा यसरी पानी वितरणको प्रयोग सहरी गरिब रहेको वीरगन्ज महानगरको एउटा बस्तीमा लोकप्रिय भइरहेको छ । युके एड, रेन परियोजना, स्टार्ट फन्ड नेपाल, केयर संस्थाको लगानीमा भोलिन्टियर्स कर्प्स नेपाल संस्थाले वीरगन्जको एउटा वडाका बासिन्दालाई निःशुल्क पानी वितरण गर्ने ‘सुक्खा र खडेरीबाट प्रभावित परियोजना’ सन्चालन गरे पछि स्थानीयले खानेपानीको सुविधा पाएका हुन् । पानीको आवश्यकता भएका घरधुरीको सर्भे गरी प्रतिघरधुरीलाई यस्तो भौचर उपलब्ध गराइएको छ ।

Free water with 'Digital Voucher' in Birganj

सामाजिक अभियन्ता प्रकाश थारु स्थानीयलाई खानेपानी वितरण गर्ने यो डिजिटल प्रविधिको प्रयोग सफल भइरहेको बताउँछन् । ‘अहिले वीरगन्ज र आसपासको क्षेत्रमा आवश्यकता भएकालाई थोपा थोपा पानीको महत्त्व छ,’ उनले भने, ‘यस्तो अवस्थामा दैनिक एक परिवारले कम्तीमा एक जार निःशुल्क खाने पानी पाउँदा उनीहरू दङ्ग छन् ।’

भोलिन्टियर्स कर्प्स नेपालका अध्यक्ष दीपक चापागाईँ नेपालमै यसरी डिजिटल प्रविधिबाट पहिलो पटक राहत सामग्री वितरण गर्ने प्रयोग सफल भएको बताए । ‘वीरगन्जमा कसैले आफ्नो भौचर देखाएर पानी लिन आउँछ भने हामीले सम्झौता गरेको पानी आपूर्ति गर्ने कम्पनीका व्यक्तिले स्क्यान गरेर पानी उपलब्ध गराउनेछन्,’ उनले भने, ‘स्क्यान गरिएको भौचरको सम्पूर्ण तथ्याङ्क काठमाडौँमा बसेर ‘लाली ३६० डिजिटल प्लेटफर्म’बाट हेर्न सकिन्छ ।’

यसो हुँदा सबै आवश्यकता भएकाहरूले समानुपातिक दरमा पानी पाउने र सुविधाबाट कसैले वञ्चित नहुने उनले बताए । पानी वितरण गर्ने कम्पनीलाई परियोजनाले पानी खरिद गरे बापत एकमुष्ट रकम उपलब्ध गराउँछ । परियोजना अन्तर्गत खडेरीको समस्याले आक्रान्त वीरगन्ज–४, ९ र १६ र बाराको विभिन्न सार्वजनिक स्थलमा २/२ हजार लिटरका पानीका ट्यांकी राखेर सर्वसाधारणलाई १६ हजार लिटर पिउने पानी उपलब्ध गराइएको छ ।

परियोजना अन्तरगत पर्साको बहुदरमाई नगरपालिका, बाराको सिम्रौनगढ नगरपालिका–४ हरिहरपुरस्थित मुसहर टोल, सर्लाहीको कबिलासी नगरपालिकामा पानी भर्ने भाडा र कुलो सफाइ गर्न ज्याला समेत उपलब्ध गराइएको जनाएको छ । नमुनाको रूपमा लागू गरिएको यो परियोजना सकारात्मक देखिए अन्य स्थानीय तहमा राहत वितरण कार्यक्रमलाई निरन्तरता दिइने उनले बताए ।

शंकर आचार्य कान्तिपुरका पर्सा संवाददाता हुन् ।

Link copied successfully