प्रधानमन्त्री ओलीद्वारा महिनैपिच्छे मधेशका राजधानी जनकपुरको भ्रमण
What you should know
जनकपुर — प्रधानमन्त्री केपी शर्मा ओली शुक्रबार दिउँसो हेलिकोप्टरबाट जनकपुर विमानस्थल ओलिएलगत्तै विभिन्न कार्यक्रममा व्यस्त रहे । धनुषाको हंसपुरमा सडकको शिलान्यास गरेर फर्किएपछि उनले जनकपुरमा निर्माण गरिएको मधेश प्रदेश प्रहरी कार्यालयको प्रशासनिक भवन उद्घाटन गरे ।
मधेशका थुप्रै कार्यक्रममा सहभागी हुनुपर्ने र काठमाडौंको मौसम अपराह्नपछि बिग्रिने सूचनासमेत लिएर आएका प्रधानमन्त्री ओलीले नेपाल प्रहरीको प्रशासनिक भवन उद्घाटन समारोहमा थुप्रै वक्ताको नाम काट्न लगाए । प्रधानमन्त्री ओली, मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंह, नेपाल प्रहरीका प्रमुख दीपक थापा र मधेश प्रदेश प्रहरी प्रमुख डीआइजी उमाप्रसाद चर्तुवेदीबाहेकका वक्ताको नाम प्रधानमन्त्रीकै आग्रहमा हटाइएको थियो ।
‘अरु कार्यक्रममा पनि सहभागी हुनुपर्ने छ । काठमाडौंको मौसम पनि अपराह्न बिग्रिने खबर छ,’ प्रधानमन्त्री ओलीले कार्यक्रममा भने,‘त्यसैले थुप्रै वक्ताको नाम हटाइएको छ । आयोजकलाई गुनासो नगर्नुहोला । मैले भनेर हटाइएको हो ।’
प्रधानमन्त्री ओली ५ महिनायता मधेशमा ५ पटक आइसकेका छन् । २७ जेठमा जनकपुरमा मुख्यालय रहेको राजर्षी जनक विश्वविद्यालयको प्रथम दीक्षान्त समारोहमा सहभागी हुन प्रधानमन्त्री ओली जनकपुर आएका थिए । त्यसअघि, १७ जेठमा मधेश प्रदेश सरकारको गौरव तथा बहुवर्षीय एक निर्वाचन क्षेत्र, एक कालोपत्रे सडक योजनाको शिलान्यास गर्न प्रधानमन्त्री ओली जनकपुर आइसकेका थिए ।
गत चैत २६ गते प्रधानमन्त्री ओलीले मधेश प्रदेशसभामा सम्बोधन गर्न जनकपुर आएका थिए । त्यही दिन उनी सिरहाको सदरमुकाममा आयोजना गरिएको एमालेको जिल्ला अधिवेशनको समेत उद्घाटन गरेका थिए ।
मध्यबर्खामै मधेश प्रदेशमा पानी नपरेर खडेरी, सुक्खा र खानेपानीको हाहाकार भइरहेको बेला साउन ९ गते प्रधानमन्त्री ओली हेलिकोप्टरबाट मधेशको निरिक्षण गरेका थिए । उनी त्यही दिन महोत्तरीको मटिहानीमा निर्माण गरिएको पुल र बारामा निर्माण गरिएको स्थानीय तहको प्रशासनिक भवनको उद्घाटन गरेर काठमाडौं फर्किएका थिए ।
साउन ३० गते शुक्रबार जनकपुरस्थित मधेश प्रदेश प्रहरी कार्यालयको प्रशासनिक भवन उद्घाटन गर्न आइपुगेका प्रधानमन्त्री ओलीले धनुषाको हंसपुर र महोत्तरीको सोनमा गाउँपालिकामा कालोपत्रे सडकको शिलान्यास पनि गरेका छन् ।
