९ तमसुक र २३ लालपुर्जा बरामद घटनामा यादवको मुद्दामाथि आज थुनछेक बहस

आत्महत्या दुरुत्साहन आरोप लागेका यादवलाई अदालतले बुधबार चार लाख धरौटी लिएर थुनामुक्त गर्न आदेश दिएको थियो ।

श्रावण २९, २०८२

कमलेश ठाकुर

A closed debate today on Yadav's case in the case of 9 Tamsuk and 23 Lalpurja seized

जनकपुरधाम — आत्महत्या दुरुत्साहनमा साउन २ गते पक्राउ परेका राजकिशोर यादवविरुद्ध जिल्ला अदालत धनुषाको ४ नम्बर इजलासमा आज थुनछेक बहस हुने भएको छ ।जनकपुरधाम उपमहानगरपालिका–९ का यादवबाट ९ वटा तमसुक, २३ वटा लालपुर्जा र पाँच वटा चेक बरामद भएको थियो । अनुचित लेनदेन मुद्दामा उनीमाथि बहस हुन लागेको हो ।

न्यायाधीश मनोज कुमार श्रीवास्तवको इजलासमा उक्त सुनुवाइ हुनेछ । ऋणीको आत्महत्या दुरुत्साहन आरोप लागेका यादवलाई अदालतले बुधबार चार लाख धरौटी लिएर थुनामुक्त गर्न आदेश दिएको थियो ।

यादवले गत असार ३२ गते मिथिला नगरपालिका–८ की ३४ वर्षीया विमलाकुमारी ध्रोङचिङ मगरको घर पुगेर गालीबेइज्जती गर्दै जेल पठाउने धम्की दिएका थिए । त्यसको भोलिपल्ट विमलाले साहु यादवको नाम उल्लेख गर्दै ’सुसाइड नोट’ लेखेर आत्महत्या गरेकी थिइन् ।

धनुषामा १५ हजारभन्दा बढी अनुचित लेनदेन (मिटरब्याज) को मुद्दा पोकामै छ । सरकारले अनुचित लेनदेनसम्बन्धी आयोग बनाएर काम गर्न थालेपछि धमाधम पीडितहरूले उजुरी गर्न थालेका थिए । साहुविरुद्ध न्यायिक प्रक्रियामा पीडित गएको देखेपछि गाउँमा सुदखोरहरू झन् निर्दयी बन्न थालेका छन् । तीनैमध्येका एक थिए, यादव ।

२०७९ साल चैतमा काठमाडौंमा समेत आन्दोलन भएपछि सरकारले विशेष अदालतका पूर्वअध्यक्ष गौरीबहादुर कार्कीको नेतृत्वमा आयोग गठन गरेको थियो । पाँचबुँदे सहमतिअनुसार बनेको उक्त आयोगलाई तीन महिनाभित्र व्यवहारिक प्रतिवेदनसहित समाधानको सिफारिस गर्न म्याद दिइएको थियो । तर पीडित अझै अनिश्चिततामा छन् ।

कमलेश कमलेश कान्तिपुरका धनुषा संवाददाता हुन् । उनी समसामयिक विषयमा रिपाेर्टिङ गर्छन् ।

Link copied successfully