कृषि विकास निर्देशनालयका अनुसार कुल ३ लाख ७२ हजार ६ सय ४५ हेक्टर क्षेत्रफलमध्ये २ लाख ८५ हजार २ सय ३४ हेक्टरमा मात्र रोपाइँ सम्पन्न भएको छ।
What you should know
जनकपुर — गत आर्थिक वर्ष २०८१/८२ को साउनसम्ममा मधेशमा धान रोपाइँ सम्पन्न भइसकेको थियो । तर यस वर्ष मनसुन अवधिमा पनि मधेशमा खडेरी परेपछि अझै धान रोपाइँ सम्पन्न हुन सकेको छैन ।
मधेशमा धान रोपाइँ हुने कुल ३ लाख ७२ हजार ६ सय ४५ हेक्टर क्षेत्रफलमध्ये २ लाख ८५ हजार २ सय ३४ हेक्टर क्षेत्रफलमा मात्रै रोपाइँ सम्पन्न भएको कृषि विकास निर्देशनालय मधेशले जनाएको छ । यस वर्ष मौसम प्रतिकूल बन्दा मधेशमा रोपाइँ हुन सकेको छैन । यतिबेला मधेशमा रोपाइँ सकिइसक्नुपर्ने भए पनि अझै रोपाइँ सम्पन्न हुन सकेको छैन ।
कृषि विकास निर्देशनालयका वरिष्ठ वागवानी विकास अधिकृत प्रदीप यादवका अनुसार साउन सकिनै लाग्दा मधेशमा ८२ प्रतिशत धान रोपाइँ सम्पन्न भइसकेको अनुमान गरिएको छ । अर्थात अझै पनि १८ प्रतिशत धान रोपाइँ मधेशमा बाँकी नै छ । कृषि विकास निर्देशनालयका अनुसार सबैभन्दा बढी बारामा ९५ प्रतिशत धान रोपाइँ भएको छ । बारामा रोपाइँ हुने कुल क्षेत्रफल ४६ हजार २० हेक्टरमध्ये ४३ हजार ७ सय १९ हेक्टरमा धान रोपाइँ सम्पन्न भएको छ ।
पर्सामा धान रोपाइँ हुने ३९ हजार ७ सय ३१ हेक्टरमध्ये ३६ हजार ५ सय ५२ हेक्टरमा रोपाइँ भएको छ । सिरहाको धान रोपाइँ हुने कुल क्षेत्रफल ५४ हजार हेक्टरमध्ये ३७ हजार ८ सय हेक्टरमा जम्मा ७० प्रतिशत रोपाइँ भएको छ । धनुषामा ४३ हजार ७ सय हेक्टर धान खेती हुने क्षेत्रफलमध्ये जम्मा ३० हजार ५ सय ९० हेक्टर क्षेत्रफलमा रोपाइँ भएको छ । उक्त क्षेत्रफलमा ७० प्रतिशत मात्रै रोपाइँ भएको छ । रौतहटमा ३५ हजार हेक्टरमध्ये ३० हजार ६५ हेक्टरमा अर्थात् ८६ प्रतिशत रोपाइँ भएको छ । सर्लाहीमा ४३ हजार ६ सय ९४ मध्ये ३२ हजार ७ सय ७० हेक्टरमा रोपाइँ भएको छ । यो भनेको ६५ प्रतिशत हो ।
सप्तरीमा भने ७० प्रतिशत मात्रै रोपाइँ हुन सकेको छ । सप्तरीमा ६८ हजार हेक्टर क्षेत्रफलमध्ये ४७ हजार ६ सय हेक्टरमा मात्रै रोपाइँ हुन सकेको हो । महोत्तरीको धान रोपाइँ हुने कुल क्षेत्रफल ४२ हजार ५ सय हो । त्यसमध्ये २६ हजार १ सय ३७ हेक्टरमा अर्थात ६१.५ प्रतिशत रोपाइँ भएको छ ।
