सरकारी अस्पतालप्रति नागरिकको विश्वास आवश्यक : मुख्यमन्त्री सिंह 

मुख्यमन्त्री सिंहले गौर प्रादेशिक अस्पतालमा मातृ शिशु स्वास्थ्य क्लिनिकको उद्घाटन गर्दै गुणस्तरयुक्त स्वास्थ्य सेवा सुनिश्चित गर्न निर्देशन दिए।

श्रावण २७, २०८२

शिव पुरी

Citizens' trust in government hospitals is essential: Chief Minister Singh

रौतहट — मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले सरकारी अस्पतालप्रति आमनागरिकको विश्वास बढाउन आवश्यक रहेको बताएका छन् । ‘निजीभन्दा सरकारी अस्पतालप्रति नागरिकले विश्वास धेरै गर्छन्,’ उनले भने, ‘हामीले सकेसम्म छिटो र विश्वसनीय सेवा दिएर जनताको मन जित्नुपर्छ ।’

रौतहट सदरमुकाम गौरस्थित प्रादेशिक अस्पतालको मातृ शिशु स्वास्थ्य (एमसीएच) क्लिनिक र चमेनागृहको उद्घाटन गर्दै मुख्यमन्त्री सिंहले न्यूनतम खर्चमा नागरिकले गुणस्तरयुक्त स्वास्थ्य सेवा पाउने अवस्था सिर्जना गर्न स्वास्थ्यकर्मीलाई निर्देशन दिए । गौर प्रादेशिक अस्पतालमा नर्सिङ पढाइ सुरु गर्न पहल गर्ने मुख्यनन्त्री सिंहले आश्वासन दिए ।

‘गैरकानुनी रूपमा सञ्चालित निजी अस्पताललाई अनुगमनमार्फत बन्द गराएको छु,’ उनले भने, ‘केहीले स्थानीय तहको अनुमति लिएर पुनः सञ्चालन गरेका छन् । अधिकांशले मापदण्ड पूरा नगरेको जानकारी प्राप्त भएको छ । अस्पताल अनुगमनलाई निरन्तरता दिनेछु ।’ 

मुख्यमन्त्री सिंहले निजी अस्पतालको अनुगमन गर्दै इजाजतबिना संचालनमा रहेका अधिकाश अस्पताल बन्द गराएका थिए । यहाँका केही स्थानीय तहले भने मापदण्डबिना संचालित अस्पताललाई पनि छुट दिएका छन् ।

मधेश प्रदेशका स्वास्थ्य तथा जनसंख्या मन्त्री शत्रुधनप्रसाद सिंहले संघीयताअघि र पछि अस्पतालको अवस्था स्पष्ट रूपमा फरक देखिन थालेको उल्लेख गरे ।

शिव उनी कान्तिपुरका संवाददाता हुन् । रौतहटलाई केन्द्र बनाएर उनले मधेश प्रदेशको राजनीति, सामाजिक र आर्थिक विषयमा रिपोर्टिङ गर्छन् ।

Link copied successfully