१४ वर्षअघि सुरु गरेको पुलको काम अझै सम्पन्न भएन, जोखिम मोलेर डुंगाबाट वारपार गर्न स्थानीय बाध्य

सिरहा र धनुषा जोड्ने कमला नदीमा पुल नहुँदा दैनिक यात्रुहरू डुंगामा यात्रा गर्न बाध्य छन्, जसले गर्दा उनीहरूको यात्रा जोखिमपूर्ण बनेको छ।

श्रावण २६, २०८२

विनय आजाद

The work of the bridge, which started 14 years ago, has not yet been completed, forcing the local people to take risks and cross by boat

What you should know

सिरहा — नदीको वारि र पारि दुवै किनारामा यात्री कुरिरहेका थिए । बिहानै सात बजे उर्लिएको बाढीको भेल हेर्दै बसेका स्थानीय ६/७ जनाको समूहमा आएकाहरुले ‘अबै जाइजा’ (आउनुस्, आउनुस्) भनेर बोलाएपछि उत्साहित भए । 

नदी किनारामा अड्को लगाएर राखिएका दुई डुंगा खियाउने माझी आएपछि करिब आधा घण्टादेखि कुरिरहेका यात्रीहरु वारपार गर्न तम्तयार भए । 

सिरहा नगरपालिका–६ स्थित बसबिट्टा घाटमा पैसा तिरेर नै किन नहोस्, यी दुई डुंगा नै हुन वारपार गर्ने माध्यम । सर्वासाधारहरुका लागि सामान्य कामकाजका लागि पनि वारपार गर्न बर्खामा डुंगा नै सहारा हुन् । 

सिरहा नगरपालिका–५ बरेरबाका दीपक मुखिया, लक्ष्मी यादव, सुमित मुखिया, राजन यादव, जितन यादव, सुभेष यादव, विशेश्वर मुखियाले लामो समयदेखि डुंगा चलाइरहेका छन् । 

बसबिट्टा त्यही ठाउँ हो, जहाँ १४ वर्षभन्दा बढी समयदेखि पुल बनिरहेको छ । मधेशको जीवनरेखा मानिने हुलाकी राजमार्गअन्तर्गत सिरहा र धनुषाको सीमामा पर्ने कमलामा पुल नहुँदा यस क्षेत्रका बासिन्दा मात्रै होइन, यो सडक भएर आउजाउ गर्ने सबै सर्वसाधारण वर्षौंदेखि सास्ती भोग्दै आएका छन् ।

The work of the bridge, which started 14 years ago, has not yet been completed, forcing the local people to take risks and cross by boat

कमलामा पानीको बहाव सामान्य भएका बेला पछिल्ला वर्षमा काठको अस्थायी पुल बनाउने गरिएको छ । तर, वर्षासँगै आउने बाढीले यो पुल बगाइदिने गर्छ । पछिल्लो साता परेको पानीपछि आएको बाढीले फेरि यहाँको अस्थायी पुल भत्काइदियो ।

पुल नै नभएपछि दुई दिन त आवागमन नै अवरुद्ध भयो । तर, पानीको बहाव घटेपछि अहिले यी दुई डुंगाले सिरहाबाट धनुषातिर र धनुषाबाट सिरहातिर जाने दैनिक पाँच सयदेखि एक हजारसम्म सर्वसाधारणलाई वारपार गराइरहेका छन् ।

‘अहिले अलिक कम पानी छ, त्यसैले डुंगा चलाएका छौं, धेरै भयो भने चलाउँदैनौं,’ डुंगा चालक दीपक मुखियाले भने, ‘डुंगा चलाउनु र डुंगाको यात्रा गर्नु जोखिमपूर्ण नै हुन्छ, तर पुल नै नभएपछि अहिले यसको विकल्प पनि त छैन ।’

डुंगा बर्खाको बेला मात्रै चलाउन मिल्ने भएकोले यसमाथि नै निर्भर रहने अवस्था भने नरहेको दीपकले बताए । अन्य बेला उनीहरु माछा किन्ने र बेच्ने कारोबार गर्छन् । तर, कमलामा बाढी आएपछि केही दिनका लागि काम छाडेर उनीहरु डुंगा चलाउन खटिन्छन् ।

‘हाम्रो माछाको कारोबार राम्रै चल्छ, तर कमलामा बाढी आएपछि मानवताका हिसाबले पनि डुंगा चलाउाछौं, पुर्खाले गरिआएकोले पनि हामीलाई यो दायित्वजस्तो लाग्छ,’ विशेश्वर मुखिया भन्छन्, ‘तर, यो समाधान होइन, सरकारले कमलामा छिट्टै समाधान दिनुपर्छ ।’

विशेश्वरका अनुसार, उनीहरुले डुंगाबाट खोला तरेवापत प्रतिव्यक्ति २० रुपैयाँ, साइकलसहित एक जनालाई पचास रुपैयाँ, मोटरसाइकलसहित एक जनालाई सय रुपैयाँ लिने गरेका छन् । तर, पैसा नहुनेलाई भने पैसाका लागि कर नगर्ने गरेको उनले बताए । 

The work of the bridge, which started 14 years ago, has not yet been completed, forcing the local people to take risks and cross by boat

एकचोटीमा एउटा डुंगामा बढीमा २० जनासम्म चढ्न पाउँछन् । जस कारण सर्वसाधारणले डुंगा चढ्न पालो कुर्नुपर्छ । जसले नदी पार हुनै कम्तीमा आधा घण्टाभन्दा बढी समय बित्ने गरेको सिरहाका रमेश मण्डलले सुनाए । 

‘जस्तोसुकै जरुरी काम भए पनि नदीमै आधा घण्टाभन्दा बढी बित्छ, दश मिनेटको बाटो जान एक घण्टा लाग्छ, यो हाम्रो नियतिजस्तै भइसकेको छ,’ उनले कान्तिपुरसित भने, ‘एक त यो जोखिमपूर्ण छ, ज्यानको बाजी लगाएर भए पनि हामी यसरी डुंगाको यात्रा गर्न बाध्य छौं ।’

बसबिट्टा घाटभन्दा करिब १० किलोमिटर दक्षिणतर्फ नेपाल–भारत सीमाक्षेत्र नजिक कमलामा झोलुंगे पुल त छ । तर, यो पुल पायक नपरेको गुनासो स्थानीय गर्छन् । ‘झोलुंगे पुलले त्यस आसपासका नागरिकलाई सहज भए पनि बाँकी क्षेत्रलाई सहज भएन,’ स्थानीय जोगी यादवले भने, ‘नदीमा पुल बन्नुको विकल्प छैन ।’

उनका अनुसार, सबै क्षेत्रलाई समेट्न सक्ने हुलाकी सडकको यो पुल नबन्दा अहिले बसबिट्टासहित सारश्वर, पटेर्वा, चिकना, बेल्हा, चतरीसहित एक दर्जनबढी ठाउामा डुंगा चल्ने र त्यसबाट जोखिम मोलेर सर्वसाधारण वारिपारि हुने अवस्था छ ।

The work of the bridge, which started 14 years ago, has not yet been completed, forcing the local people to take risks and cross by boat

कमला नदीको पुलको निर्माण सुरु भएको १४ वर्षभन्दा बढी भइसकेको छ । चार सय ६९.२ मिटर लामो पुलको निर्माण २०६८ जेठ ३१ बाटै थालिएको थियो । यो पुल निर्माणका लागि पप्पु लुम्बिनी जेभी काठमाडौंले २८ करोड १५ लाख रूपैयाामा ठेक्का सम्झौता गरेको थियो ।

सम्झौताअनुसार, २०७१ मंसिर ३० गतेभित्र पुल निर्माण पूरा गर्ने उल्लेख थियो । तर, दुईपटक म्याद थपेर २०७५ मंसिर ३० गतेसम्म निर्माण अवधि लम्ब्याइयो । तैपनि ठेकेदार कम्पनीको लापरबाहीका कारण थपिएको म्यादमा पनि पुल निर्माण हुन सकेन ।

हुलाकी राजमार्ग निर्देशनालय, योजना कार्यालय, जनकपुरले त्यसपछि २०७६ असोज १ मा पप्पुलाई हटाएर लुम्बिनी जेभीलाई ठेक्का दिएको थियो । तर, पटक–पटक म्याद थप भएर दश वर्षमा निर्माणको अन्तिम चरणमा पुगेको यो पुल २०७८ असार १७ मा सामान्य बाढी थेग्न नसकी भासिएको थियो । 

The work of the bridge, which started 14 years ago, has not yet been completed, forcing the local people to take risks and cross by boat

पुल भासिएपछि पुनः पुनर्निर्माण थालिएको भनिए पनि यति सुस्त ढंगले काम भइरहेको छ कि पुल बन्ने/नबन्ने कुरा अनिश्चितजस्तै छ । पछिल्लो समय अन्तिम पटकका लागि २०८२ असारसम्मको म्याद दिइए पनि ठेकेदारले पुलको काम नै अलपत्र पारेको छ ।

कमला पुलको विषयमा अहिले केही भन्न मिल्ने अवस्था नरहेको निर्देशनालयका प्रमुख कृष्णकुमार महतोले बताए । महतोका अनुसार, सम्झौता अनुसार तोकिएको मितिभित्र काम नगरेपछि निर्देशनालयले ठेकेदारलाई कारबाही गर्ने प्रक्रिया अगाडि बढाएको छ ।

‘यो पुलको विषयमा अहिले केही भन्ने अवस्था छैन, हामीले ठेकेदारलाई कारबाहीका लागि केन्द्रमा सिफारिस गरेका छौं, तर टुंगो लागिसकेको छैन,’ उनले कान्तिपुरसित भने, ‘यस विषयमा भदौपछि मात्रै केही भन्ने अवस्था हुन्छ होला ।’

यहाँका नागरिक अगुवाहरूले कमला पुलका लागि पटक पटक आन्दोलन नै गर्दै आएका छन् । तर, कतैबाट पनि आन्दोलनको माग र सर्वसाधारण पीडालाई सम्बोधन गर्ने काम भएको छैन । जबकि, प्रधानमन्त्रीदेखि मन्त्रीसम्म यहाँ पटकपटक आएर पुल चाँडै बन्ने आश्वासन दिएर जाने गरेका छन् ।

The work of the bridge, which started 14 years ago, has not yet been completed, forcing the local people to take risks and cross by boat

पुल बनाउनभन्दा यसलाई सधैंभरि चुनावी मुद्दा बनाइराख्ने राजनीतिक दलहरुको नियत भएकोले यो पुल बन्न नसकेको हुलाकी सडक संघर्ष समितिका अनुवा रामरिझन यादवको आरोप छ । ‘देश हाँक्नेहरु नै पटक–पटक आउँदा पनि जाबो एउटा पुल बन्न नसक्नु संदेहपूर्ण छ,’ उनले भने, ‘पुल बनाउने नियत कसैको देखिएन ।’

विनय आजाद कान्तिपुरका सिराहा संवाददाता हुन् ।

Link copied successfully