तीनवर्षमा सम्पन्न हुनुपर्ने कमला नदीको पुल १४ वर्ष पनि अधुरै

कमला नदीमा स्थायी पुल नबन्दा सिरहाका स्थानीयले अस्थायी बाँस र काठको पुलबाट जोखिम मोल्दै यात्रा गर्नुपरेको छ।

श्रावण २६, २०८२

रासस

The Kamala River bridge, which should have been completed in three years, has not been completed for 14 years

What you should know

सिरहा — सिरहा र धनुषा जिल्लालाई जोड्ने कमला नदीको पक्की पुल १४ वर्षदेखि अधुरै छ । विसं २०६८ मा तीन वर्षमै सम्पन्न गर्ने लक्ष्यसहित सुरु गरिएको चार सय ६९ मिटर लामो पुल अहिलेसम्म निर्माण सम्पन्न नहुँदा स्थानीयवासी बर्सेनि सास्ती भोग्न बाध्य छन् ।

पुल नबन्दा स्थानीयले अस्थायी रूपमा बनाइएको बाँस वा काठको पुलमार्फत जोखिमपूर्ण यात्रा गर्नुपर्ने अवस्था छ । यही साउनको तेस्रो हप्तामा आएको बाढीले बाँसको अस्थायी पुल बगाएपछि आवतजावत ठप्प भएको थियो । हाल पुनः काठको संरचना बनाएर आवतजावत केही सहज बनाइएको भए पनि जोखिम यथावत् छ ।

सिरहा– ६ का प्रवीण यादव भन्छन्,‘पुल नबन्दा हामी वर्षौंदेखि सास्ती भोग्दै आएका छौँ । अहिले बनाइएको काठे संरचना जोखिमपूर्ण छ, तर त्यही बाटो भएर हामी हिँड्न बाध्य छौँ । मोटरसाइकलसहित यात्रा गर्दा झन् डर लाग्छ, तर विकल्प छैन । त्यसमा पनि यात्रुहरूमाथि मनपरी शुल्क असुली भइरहेको छ ।’

नगरपालिकाले निःशुल्क सञ्चालनको दाबी गरे पनि ५० सम्म तिर्नुपरेको उनको भनाइ छ । उनले भने, ‘पहिले ठेक्का सम्झौताअनुसार २० रुपैयाँ लिइन्थ्यो, अहिले त्यो पनि हटेको भनिए तापनि व्यवहारमा शुल्क झनै बढेको छ । जनतामाथि दोहोरो भार परेको छ एकातिर जोखिमपूर्ण यात्रा, अर्कातिर अनियमित शुल्क असुली ।’

पुल निर्माणको जिम्मा पहिले पप्पु–लुम्बिनी जेभीलाई दिइएको थियो । पप्पु कन्स्ट्रक्सन कालोसूचीमा परेपछि बाँकी काम लुम्बिनी बिल्डर्सले गर्दै आएको हो । तर बाढीले दुई पाया भासिएपछि आवश्यक मर्मतका लागि आठ करोडको बिमा रकम नपाएको कारण देखाउँदै कम्पनीले पछिल्लो एक महिनादेखि काम रोकिदिएको छ ।

हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय जनकपुरका सूचना अधिकारी इञ्जीनीयर रञ्जितकुमार रायका अनुसार निर्माण कम्पनीले तोकिएको म्यादमै काम रोकेकाले ठेक्का तोडेर लुम्बिनी बिल्डर्सलाई पनि कालोसूचीमा राख्ने प्रक्रिया अघि बढाइएको छ । 

सिरहा–६ का वडाध्यक्ष इन्द्रजित यादवका अनुसार, पुल नहुँदा बाढीपछिको समयमा पैदलयात्रुले बाँसको भर्‍याङ चढेर वा डुङ्गाबाट नदी पार गर्नुपर्ने अवस्था रहेको छ । कमला नदीमाथिको पुल अधुरो रहँदा हरेक वर्षको वर्षायाम स्थानीयवासीका लागि चुनौती बनेको छ ।

रासस

Link copied successfully