पक्राउ पर्ने डरले मोटरसाइकल दुर्घटनामा घाइते भएकी भाउजुको मृत्युपछि देवर फरार

देवरले चलाएको अनटेस्ट मोटरसाइकलमा पछाडि बसेर बोदे बरसाइनतर्फ आउँदै गर्दा सोमबार दिउँसो दुर्घटना भएको थियो ।

श्रावण २६, २०८२

विद्यानन्द राम

Brother-in-law fled after the death of his sister-in-law, who was injured in a motorcycle accident, fearing arrest

What you should know

राजविराज — सप्तरीको बलान बिहुल गाउँपालिका–६ सेहरा चोकमा मोटरसाइकल दुर्घटना हुँदा घाइते भएकी ३० वर्षीया शान्तिकुमारी यादवको मृत्यु भएको छ । उनी आफ्नै देवर २६ वर्षीय गयाप्रसाद यादवले चलाएको अनटेस्ट मोटरसाइकलमा पछाडि बसेर बोदे बरसाइनतर्फ आउँदै गर्दा सोमबार दिउँसो दुर्घटनामा परेकी थिइन् ।

हुलाकी राजमार्गमा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा उनको टाउको र शरीरमा गम्भीर चोट लागेको थियो भने उनका ३ वर्षीय छोरा आदित्य र देवर गयाप्रसाद पनि घाइते भएका थिए । 

उपचारका लागि छिन्नमस्ता अस्पताल राजविराज ल्याइरहँदा शान्तिको मृत्यु भएपछि पक्राउ पर्ने डरले गयाप्रसादले भतिज आदित्यलाई बोकेर एम्बुलेन्सबाटै भागेका छन् । अस्पताल पुर्‍याइएकी शान्तिकुमारीलाई चिकित्सकले मृत घोषणा गरेका थिए । 

गयाप्रसाद भागेपछि शान्तिकुमारीको शव अस्पतालमै राखिएको छ । गयाप्रसादको खोजी भइरहेको छ भने दुर्घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका डीएसपी जितेन्द्रकुमार बस्नेतले बताए । 

उता, शम्भुनाथ नगरपालिका–८ पोखरियामा पनि बिहान दुर्घटना हुँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । प्रदेश २–०१–००१ स १०२५ नम्बरको टेम्पु र विपरीत दिशाबाट आँउदै गरेको मधेश प्रदेश ०१–००५ प ५७३३ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किँदा दुर्घटना भएको हो । 

दुर्घटनामा मोटरसाइकल चालक शम्भुनाथ नगरपालिका–२ कनकपट्टीका २४ वर्षीय अजयकुमार चौधरी गम्भीर घाइते भएका थिए । उपचारको लागि गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा भर्ना गरिएको उनको उपचारकै क्रममा मृत्यु भएको हो । 

दुर्घटनामा टेम्पु चालक शम्भुनाथ नगरपालिका–८ पोखरियाकै ४५ वर्षीय मणिलाल मण्डल र उनकी पत्नी ४० वर्षीया आशादेवी मण्डलको टाउकोमा चोट लागेर घाइते भएका छन् । दुवै जनाको एडभान्स अस्पताल कल्याणपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ । 

विद्यानन्द राम विद्यानन्द राम कान्तिपुरका सप्तरी संवाददाता हुन् । उनी समसामयिक बिषयमा रिपाेर्टिङ गर्छन् ।

Link copied successfully