इलाका प्रहरी चन्द्रनिगाहपुरले आइतबार १० किलोग्राम गाँजासहित एक जनालाई पक्राउ गरेको छ ।
रौतहट — रौतहटको चन्द्रपुर नगरपालिकाको धन्सर क्षेत्रबाट इलाका प्रहरी चन्द्रनिगाहपुरले आइतबार १० किलोग्राम गाँजासहित एक जनालाई पक्राउ गरेको छ ।
धन्सार क्षेत्रमा इलाका प्रहरी कार्यालय चन्द्रपुरबाट प्रहरी सहायक निरीक्षक टीकामाया शिवाकोटीको टोलीले बारा, निजगढ नगरपालिका–१२ का ३४ वर्षीय दीपक थिङलाई ९ किलो ७५० ग्राम गाँजासहित पक्राउ गरेको हो ।
ना ८० प ९८९३ नम्बरको मोटरसाइकल चढेर पश्चिमबाट पूर्वतर्फ आउँदै गरेका उनले बोकेको जेब्रा झोलाबाट दुई वटा पोकामा गाँजा बरामद भएको जिल्ला प्रहरी कार्यालय गौरले जानकारी दिएको छ ।
गाँजा कहाँबाट ल्याएको र कहाँ लैजान लागेको भन्नेबारे प्रहरीले उनीसित सोधपुछ गरिरहेको छ ।
पछिल्लो समय मधेशप्रदेश गाँजा ओसारपोसारको हब बन्दै गएको छ । प्रहरीले गाँजा बोक्ने भरिया पक्रे पनि अहिलेसम्म एक जना पनि मुख्य मालिक पक्रन सकेको छैन ।
