सहरी विकास मन्त्रालयको लगानीमा लहान ६ र ७ स्थित पुरानो बजारमा २८ करोड ५८ लाख १० हजार १७५ रुपैयाँमा पाँच तले व्यापारिक बहुउद्देश्यीय भवन र लहानमा १० किलोमिटर कालोपत्र सडकसमेत निर्माण भएको हो ।
सिरहा — कार्यवाहक प्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले सिरहाको लहानमा नवनिर्मित व्यापारिक बहुउद्देश्यीय भवन उद्घाटन गरेका छन् ।
सिंहले बिहीबार भवनको उद्घाटन गर्दै लहान नगरपालिकालाई हस्तान्तरण गरेका हुन् ।
सहरी विकास मन्त्रालयको लगानीमा लहान ६ र ७ स्थित पुरानो बजारमा २८ करोड ५८ लाख १० हजार १७५ रुपैयाँमा पाँच तले व्यापारिक बहुउद्देश्यीय भवन र लहानमा १० किलोमिटर कालोपत्र सडकसमेत निर्माण भएको हो । भवनले यस क्षेत्रको आर्थिक गतिविधिमा वृद्धि ल्याउने र यहाँको अर्थतन्त्रमा सकारात्मक योगदान गर्ने विश्वास कार्यवाहक प्रधानमन्त्री सिंहको छ ।
यस्तै सम्बोधनका क्रममा उनले चुरे संरक्षणप्रति नागरिक र सरोकारवाला सबै गम्भीर बन्नुपर्ने बताए । चुरे सुरक्षित रहे मात्रै मधेश सुरक्षित रहने उनको भनाइ छ । 'चुरे मधेशको मेरुदण्ड हो, त्यसैले मधेशलाई जोगाउन चुरे जोगाउन आवश्यक छ,' उनले भने, 'चुरेको संरक्षण सरकारी प्रयासले मात्र सम्भव हुँदैन, नागरिक पनि जागरुक हुन जरुरी छ ।'
भवनको साँचो बुझ्दै लहान नगरपालिकाका नगर प्रमुख महेशप्रसाद चौधरीले यो भवनले लहानमा व्यापारिक आकर्षण बढाएको बताए । यसमा युवा उद्यमीलाई प्राथमिकता दिइने र केही गर्न चाहने युवाहरूलाई नगरपालिकाले हरेक प्रकारको सहयोग गर्ने मेयर चौधरीको भनाइ छ ।
