वर्षापछि हिलाम्मे सडकमा दुर्घटना बढेको भन्दै ई–रिक्सा चालकहरूले आन्दोलन थालेका छन् ।
राजविराज — सडक नबन्दा यात्रुलाई ओहोरदोहर गर्न सास्ती भइरहेको भन्दै सप्तरीको खडक नगरपालिकाका ई–रिक्सा चालक आन्दोलित भएका छन् । उनीहरुले बिहीबार कुशमाहार खरचुहिया सडक अवरुद्ध गरेका छन् । बिहानैदेखि वडा नम्बर ५ गौरुराहास्थित ढाट लगाएर उनीहरुले सडक अवरुद्ध गरेका हुन् ।
वर्षापछि हिलाम्य बनेको सडकमा अत्यधिक खाल्डाखुल्डीले दुर्घटना बढेपछि आन्दोलन गर्न बाध्य भएको ई–रिक्सा चालक रविनाथ चौधरीले बताए । ‘यहाँबाट दक्षिणतर्फ एक किलोमिटर जाँदा राम्रो सडक बनेको छ तर खरचुहिया बजारसम्म खुक्खा याममा धुलाम्मे र वर्षामा हिलाम्मे रहन्छ,’ उनले भने, ‘खाल्डाखुल्डीले दैनिक ४/५ वटा ई–रिक्सा पल्टिरहँदा पनि सडक बनाउने वा मर्मत गर्ने/गराउनेतर्फ कसैको ध्यान पुगेको छैन ।’
उनले मेहनत गरेर गुजारा चलाइरहेकालाई स्थानीयदेखि संघ सरकारसम्मले उपेक्षा गर्दै आएको गुनासो गरे । ‘सडकको दुरावस्थाले ई–रिक्सामा यात्रु चढ्नै मान्दैनन्, हामीलाई गुजारा चलाउन कठिन भइरहेको छ,’ उनले थपे, ‘तर, हाम्रो समस्या कसैले बुझिरहेका छैनन् ।’ उनीहरुले अविलम्ब सडक मर्मत हुनुपर्ने माग गरेका छन् ।
