इन्टर मोडल यातायात विकास समिति वीरगन्जका अनुसार गत आर्थिक वर्षमा कन्टेनर र लुज कार्गो रेलको आवागमन अघिल्लो वर्षभन्दा बढेको छ।
What you should know
पर्सा — आयात–निर्यात व्यापार घटेको तथा आर्थिक गतिविधिले अझै लय समात्न नसकेको अवस्थाबीच सिर्सिया सुक्खा बन्दरगाह नाकाबाट गत आर्थिक वर्षमा मालबाहक रेलको आवागमन बढेको देखिएको छ ।
इन्टर मोडल यातायात विकास समिति वीरगन्ज कार्यालयको तथ्यांकले अघिल्लो आवको तुलनामा गत आवमा कन्टेनर बाहक रेल र लुज कार्गो वस्तु बोक्ने रेलको आवागमन बढेको देखिएको छ । बोरा बन्द कार्गो र फलामजन्य वस्तु बोक्ने बिआरएन रेल्वे र्याकको आवागमनमा भने सामान्य गिरावट आएको छ ।
गत आव भरिमा यो बन्दरगाहमा भारतका विभिन्न बन्दरगाहबाट कन्टेनर बोकेर कन्टेनर बोकेर ८ सय ५ पटक रेल्वे र्याक आएको थियो । जसमा ६९ हजार ६ सय ८६ मालबाहक कन्टेनर थिए । अघिल्लो आर्थिक वर्षमा ६ सय ७२ पटक कन्टेनर बाहक रेल बन्दरगाहमा आइपुगेको थियो । जसले ५९ हजार १ सय ७८ वटा कन्टेनर बोकेका थिए । गत आवमा २ सय १४ पटक बोरा बन्द कार्गो सामान बोकेका रेल्वे र्याक यो बन्दरगाहमा आएको थियो । जसले ४ लाख ८३ हजार ६ सय ६५ टन बोरा बन्द कार्गो ल्याएका थिए । अघिल्लो आवमा २ सय ४३ बिसिएन र्याकले ५ लाख ४० हजार ३ सय ३० टन बोरा बन्द कार्गो वस्तु बोकेर ल्याएका थिए ।
गत आवमा ७६ बीआरएन अर्थात फलाम बोक्ने र्याकले एक लाख ८३ हजार ३ सय ८३ टन फलाम बोकेर ल्याएका थिए । अघिल्लो आवमा ७७ बीआरएन र्याकले १ लाख ८३ हजार १ सय २९ टन फलाम बोकेर ल्याएका थिए । गत आवमा १ सय ५२ लुज कार्गो रेल्वे र्याकले ५ लाख ६८ हजार ५ सय १३ टन लुज कार्गो वस्तु बोकेर ल्याएका थिए । अघिल्लो आवमा १ सय ११ लुज कार्गो रेल्वे र्याकले ४ लाख ५ हजार ४ सय ७२ टन लुज कार्गो वस्तु बोकेर ल्याएका थिए । लुज कार्गो वस्तुमा कोइला प्रमुख रहेको छ ।
इन्टर मोडल यातायात विकास समिति वीरगन्ज कार्यालय प्रमुख कमल ज्ञवाली आर्थिक मन्दीकाबीच पनि तेस्रो मुलुक मालवस्तु आयात निर्यात हुने कन्टेनरको आवागमन बढ्नु सुखद संकेत भएको बताउँछन् । वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष हरिप्रसाद गौतम रेलबाट तुलनात्मक रुपमा ढुवानी सस्तो र सहज हुने भएकाले तेस्रो मुलुकसँगको आयात निर्यात बढाउन बन्दरगाहमा रेल ढुवानी सेवालाई झन् सस्तो बनाउन सके त्यसले बन्दरगाहमा रेलको आवागमन झनै बढन सक्ने बताउँछन् ।
