'मानव बेचबिखन रोक्न नेपाल र भारतको सहकार्य आवश्यक'

पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले नेपाल र भारतमा मानव बेचबिखन र हिंसाको प्रवृत्ति समान रहेको बताए ।

श्रावण १६, २०८२

शंकर आचार्य

'Nepal and India need to cooperate to stop human trafficking'

What you should know

पर्सा — मानव बेचबिखन नेपाल र भारतको साझा समस्या भएकाले यसको नियन्त्रणका लागि दुवै देशका सरोकारवालाबीच सहकार्य आवश्यक रहेकोमा जोड दिइएको छ । 

जिल्ला प्रहरी कार्यालय पर्साको सहकार्यमा आफन्त नेपाल जावलाखेल ललितपुरको अयोजनामा शुक्रबार वीरगन्जमा भएको ‘मानव बेचबिखन नियन्त्रण’ विषयक सीमा समन्वय बैठकमा सहभागी दुवै देशका सरोकारवालाहरुले यस्तो आवश्यकता औंल्याएका हुन् । 

जिल्ला समन्वय समिति पर्साका अध्यक्ष निरन्जन साह सोनारले मानव बेचबिखन नियन्त्रणका लागि थप कडा कानुन र सजाय व्यवस्थाको आवश्यक रहेको बताए । उनले नियतवश अपराधमा संलग्न हुनेहरुलाई सामान्य कानुन र सजाय कम रहेको उल्लेख गर्दै यो समस्या समाधानका लागि नेपाल र भारतका सरोकारवालाहरुबीच आपसी समन्वय र सहकार्य हुनपर्नेमा समेत जोड दिए । 

पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले नेपाल र भारतमा मानव बेचबिखन र हिंसाको प्रवृत्ति समान रहेको बताए । उनले यो समस्याको समाधान सुरक्षा निकाय र राज्य मात्रैले गर्न नसक्ने भएकाले यसमा गैरसरकारी संस्थाहरुको पनि सहयोग चाहिने बताए । 

नारायणी अस्पताल वीरगन्जस्थित एकद्वार संकट व्यवस्थापन केन्द्रकी फोकल पर्सन अहेमा थापाले बेचबिखनमा परेका तथा पर्न लाग्दा उद्धारमा परेकाहरुलाई वीरगन्जमा आश्रय दिने सेल्टर होम नहुँदा समस्या भइरहेको बताइन् ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक गौतम मिश्रले कार्यपत्र प्रस्तुत गर्दै ६ महिनायता मात्र पर्सा प्रहरीले बेचबिखन कार्यमा संलग्न १३ जनामाथि जिल्ला अदालतमा मुद्दा दर्ता गरी सकेको बताए । गत आर्थिक वर्षमा पर्सा प्रहरीले जिल्लास्थित सिमा नाकाबाट बेचबिखनको जोखिममा रहेका १ सय ६७ जनाको उद्धार गरेको उनले बताए । भारतमा बेचबिखनमा पर्ने नेपाली चेलीबेटी तथा बालबालिकालाई प्रायः भारतमा वेश्यावृत्ति, मनोरन्जनको क्षेत्रमा जबरजस्ती काम लगाउने, घरेलु कामदार बनाउने, उद्योगमा जोखिमपूर्ण काम गराउने, अंग प्रत्यारोपणका लागि प्रयोग गर्ने र भारत हुँदै तेस्रो मुलुकमा लगेर बेचबिखन गर्ने प्रवृत्तिसमेत रहेको उनले बताए ।

आफन्त इन्डिया फाउन्डेशन भारतका निर्देशक बिनोद खातीले कार्यपत्र प्रस्तुत गर्दै संस्थाले सन् २०२४ मा भारतको हैदराबाद, बेंग्लोर, गुजराज, राजस्थान, बिहार, हरियाणा, दिल्ली लगायतका स्थानबाट ५२ नेपाली चेलीबेटीको उद्धार गरेको बताए । २०२५ को जुनसम्ममा ५० नेपाली चेलीबेटीको यसरी भारतका विभिन्न स्थानबाट उद्धार गरिसकेको उनले सुनाए । कुल १ सय २ मध्ये ७२ चेलीबेटीलाई भारतीय दूतावाससँगको समन्वयमा नेपाल फर्काउन सफलता मिलेको उनले बताए । अन्यलाई भारतमै उनीहरुका अभिभावकको जिम्मा लगाई पारिवारिक पुनर्मिलन गराइएको छ । यस अवधिमा नेपालबाट भारत पुगेका १९ नाबालकहरुको पनि उद्धार गरेर स्वदेश फर्काइएको उनले बताए ।

आफन्त नेपालका उपनिर्देशक रामशरण पौडेलले भारतीय आश्रय गृहहरुमा आश्रित नेपाली चेलीबेटीहरुलाई स्वदेश फिर्ता ल्याउने प्रक्रिया झन्झटिलो रहेकाले यसमा सुधार गर्न दुवै देशका सरोकारवाला निकायहरुले गृहकार्य आवश्यक रहेको बताए । जिल्ला बाल कल्याण समिति भारत बिहार पूर्वी चम्पारणका सदस्य दिग्बिजय कुमारले नेपाली चेलीबेटीहरुको भारतमा उद्धार पछि त्यहाँका आश्रय गृहहरुमा आश्रय दिएपछि नेपाल फिर्ता जाने प्रक्रिया भारत र नेपाल दुवैमा लामो र झन्झटिलो रहेकाले अविलम्ब सुधार गरिनु पर्ने बताए । उनले गरिबी र बेरोजगारीको समस्याले बेचबिखनको समस्या बढाउने भएकाले दुवै देशले यी समस्या न्यूनीकरण गर्न साझा कार्यक्रम सञ्चालन गर्नुपर्नेमा पनि जोड दिए । 

बैठकमा मानव बेचबिखन नियन्त्रणका क्षेत्रमा कार्यरत नेपाल र भारतका गैरसरकारी संस्थाका प्रतिनिधि, सुरक्षाकर्मीलगायत सरोकारवालाहरुको सहभागिता थियो ।

शंकर आचार्य कान्तिपुरका पर्सा संवाददाता हुन् ।

Link copied successfully