खंग दम्पतीको मृत्यु प्रकरण : नागरिक बीमाको सुविधा उपलब्ध गराउन पहल

शनिबार बिहान करेन्ट लागेर खंग दम्पतीको निधन भयो, प्रदेश सरकारले नागरिक बीमा प्रक्रियालाई सहज बनाउँदै छ।

श्रावण १५, २०८२

विद्यानन्द राम

Khang couple's death case: Initiative to provide civil insurance facility

What you should know

राजविराज — ई–रिक्सा चार्ज गरिरहँदा करेन्ट लागेर मृत्यु भएका सप्तरीको रूपनी गाउँपालिका–२ पौवाँका खंग दम्पतीका परिवारलाई नागरिक बीमाको सुविधा उपलब्ध गराउन पहल सुरु भएको छ । 

बिहीबार मधेश प्रदेश सरकारका उच्चस्तरीय टोलीले पीडितको घरमा पुगेर घटनाबारे जानकारी लिएको हो । प्रदेश सरकारले गत साउन १ गतेदेखि लागू गरेको नागरिक बीमाको सुविधा उपलब्ध गराउने उद्देश्यले घटनाबारे जानकारी लिनुका साथै आवश्यक कागजात संकलन गर्ने कार्य सुरु गरिएको मुख्यमन्त्रीका प्रेस सल्लाहकार अवधेशकुमार झाले जानकारी दिए । ‘उहाँहरुको दुःखमा प्रदेश सरकार पनि दुःखी छ,’ उनले भने, ‘थोरै भए पनि हामी मलहम लगाउने प्रयास गरिरहेका छौं, नागरिक बीमाको प्रक्रिया अझ सहज पार्न स्थानीय तह र अन्य निकायसँग समन्वय भइरहेको छ ।’

प्रदेश सरकारको उच्चस्तरीय टोलमा खेलकुद तथा समाज कल्याण मन्त्रालयका निमित्त सचिव रञ्जितकुमार यादव, मुख्यमन्त्रीका प्रेस सल्लाहकार झा, मन्त्रालयका उपसचिव धर्मेन्द्रलाल कर्ण र बीमा कम्पनीका प्रतिनिधि लगायतका उपस्थित थिए ।

शनिबार बिहान ४२ वर्षीय बालेश्वर खंग ‘कैला’ आफ्नो ई–रिक्सा चार्ज गरिरहँदा अचानक करेन्ट लागेर ढलेका थिए । केहीबेरसम्म उनलाई नदेखपछि खोज्दै हिँडेकी ३८ वर्षीया पत्नी रामकुमारीले पतिलाई ढलेको देख्नासाथ उठाउन गएकी थिइन् । करेन्ट लागेर उनी पनि त्यहीँ ढलेकी थिइन् ।

दुवैलाई करेन्ट लागेपछि छुटाउन गएकी भतिजी २४ वर्षीया प्रमिलाकुमारीलाई पनि करेन्ट लागेर टाउकोमा चोट लागेको थियो । ई–रिक्सा चलाएर परिवार चलाउँदै आएका खंग दम्पतीको मृत्युपछि मृतकका दुई छोरा १९ वर्षीय सुरज र १० वर्षीय निरज बेसहारा भएर छाक टार्न कठिन भइरहेको छ ।

विद्यानन्द विद्यानन्द राम कान्तिपुरका सप्तरी संवाददाता हुन् । उनी समसामयिक बिषयमा रिपाेर्टिङ गर्छन् ।

Link copied successfully