अन्धाधुन्ध खुकुरी प्रहारबाट एकजनाको मृत्यु भएको थियो, दुईजना घाइते छन् ।
What you should know
जनकपुरधाम — जनकपुरधाममा किशोरी हत्याका अभियुक्त पक्राउ परेका छन् । बिहीबार धनुषा प्रहरीले बटेश्वर गाउँपालिका–५ का १५ वर्षीया अञ्जली यादवको हत्या आरोपमा क्षीरेश्वरनाथ नगरपालिका–९ इच्छापुरका ३५ वर्षीय रामबाबु साहलाई पक्राउ गरेको हो ।
साहले गएको सोमबार जनकपुरधाम उपमहानगरपालिका–४ स्थित अञ्जली बसोबास गरिरहेको भाडाको घरमा पुगी राति ११ बजे अन्धाधुन्ध खुकुरी प्रहार गरेका थिए । खुकुरी प्रहारबाट अञ्जलीको मृत्यु भएको थियो भने उनकी आमा आशादेवी यादव र मिथिला नगरपालिका–९ ढलकेवरकी राधा यादव घाइते भएका थिए ।
राधा मृतक अञ्जलीकी मामाकी छोरी हुन् । खुकुरी प्रहारबाट गम्भीर घाइते आशाको उपचार धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भइरहेको छ भने राधा डिस्चार्ज भई घरमा रहेको धनुषाका डिएसपी बरुणबहादुर सिंहले जानकारी दिए ।
उनका अनुसार अभियुक्तले यसअघि श्रीमती सरितादेवी साहको हत्या गरेका थिए । २०७१ चैत २ गते हत्या गरेर अभियुक्त साह ५ वर्ष जेल भुक्तानी गरेर २०७७ सालमा रिहा भएका थिए । खुकुरी प्रहारबाट घाइते भएकी आशासँग अभियुक्त रामबाबुको सम्बन्ध रहेको प्रहरी अनुसन्धानबाट खुलेको छ । ‘अभियुक्त र आशा सम्बन्धमा रहेको देखिन्छ । अभियुक्तसँग नियमित आर्थिक लेनदेन पनि देखिन्छ,’ डीएसपी सिंहले भने, ‘आशा आर्थिक रुपमा सबल भएपछि अभियुक्तलाई बेवास्ता गरेको देखिन्छ ।’
दुवैजनाले जनकपुरमा कोठा लिएर बस्ने सहमति गरेपछि आशाका श्रीमान् दिनेश यादवले थाहा पाएका थिए । त्यसपछि अभियुक्त रामबाबु र दिनेशबीच पनि कलह देखिएको धनुषाका एसपी नरहरी रेग्मीले जानकारी दिए । उनका अनुसार कलह बाहिर आएपछि इलाका प्रहरी कार्यालय ढलकेवरमा छलफलसमेत भएको र रामबाबुले केही जरिवाना तिरेर आशासँग बस्ने सहमति गरेका थिए । तर, पछि जनकपुरधामको कोठामा वास्तविक श्रीमान्लाई बेलाएर आफूलाई बेवास्ता गरेकाले रामबाबुले हत्या योजना बनाएको एसपी रेग्मीको भनाइ छ । ‘अहिलेसम्मको अनुसन्धानले अवैध सम्बन्धमा पनि चिट भएका कारण घटना भएको देखिन्छ,’ एसपी रेग्मीले भने, ‘यसमा अहिलेसम्म एकै जनाको संलग्नता देखिन्छ ।’
अभियुक्तको साथबाट प्रहरीले हत्यामा प्रयोग भएको खुकुरी र सवारी बरामद गरेको छ । यस विषयमा प्रहीले थप अनुसन्धान गरिरहेको छ ।
