पानी संकट : वीरगन्जमा विद्युत् र खानेपानीको चोरी बढ्यो

अवैध हुकिङ र पानी चोरी रोक्न कारबाहीको तयारी

श्रावण १३, २०८२

शंकर आचार्य

Water crisis: Electricity and drinking water theft increased in Birganj

What you should know

पर्सा — खडेरीले खानेपानीको अभाव बढेसँगै वीरगन्ज महानगर क्षेत्रमा विद्युत् र खानेपानीको पनि चुहावट बढेको छ ।

डिप बोरिङका लागि सोझै विद्युत् हुकिङ गरेर चलाउने प्रवृत्ति बढेकाले त्यसलाई नियन्त्रण तथा नियमन गर्ने प्रयास भइरहेको नेपाल विद्युत् प्राधिकरण वीरगन्ज वितरण केन्द्रले गरेको छ । केन्द्र प्रमुख इन्जिनियर अवधेश दुबेले अधिकांश डिप बोरिङ विद्युत प्रसारण लाइनबाट हुकिङ गरी सञ्चालन गरेको पाइएकाले त्यसविरुद्ध कारबाही अघि बढाइएको बताए । ‘प्राधिकरण डिप बोरिङको विपक्षमा छैन,’ उनले भने, ‘तर डिप बोरिङ चलाउन हचुवाको भरमा प्राधिकरणको प्रसारण लाइनबाट विद्युत् हुकिङ गर्नुभएन, यसले अराजकता बढाउँछ ।’

उनले यस्ता डिप बोरिङ चलाउन प्राधिकरणको अनुमति लिई मिटर जडान गर्नु आवश्यक रहेको बताए । आइतबारको जिल्ला विपद् व्यवस्थापन समितिको समितिको बैठकमा पनि आफूले यो मुद्दा उठाएको  उनले बताए । ‘बैठकले पनि उपभोक्ता समितिहरूले आवश्यक कागजात लिएर आएमा २४ घण्टाभित्र मिटर जडान गरिदिने निर्णय गरेको छ,’ उनले भने, ‘यसरी अवैध रुपमा भई रहेको विद्युत् हुकिङ कार्य गैरकानुनी भएकाले यसलाई तत्काल रोक्न स्थानीय एफएमबाट सार्वजनिक सूचनामार्फत सचेत गरेका छौं ।’ एक सातापछि अनुगमन गरेर यसरी हुकिङ गर्नेहरुलाई कारबाहीको दायरामा ल्याउने उनले बताए ।

यसैगरी खानेपानी संस्थानको पानीको दुरुपयोग पनि बढेको संस्थान वीरगन्ज शाखा प्रमुख प्रवीण कुमार साह बताउँछन् । वीरगन्जको राधेमाई , नगवा लगायतका स्थानमा करिब १ हजार धारा संस्थानको अनुमतिबिना जडान गरी प्रयोग भइरहेको साहले बताए । हाल विषम परिस्थितिको फाइदा उठाएर यसरी अवैध ढंगले पानी चोरी गरी उपयोग गरेको पाइएको उनको भनाइ छ । यस सम्बन्धमा जिल्लाका सुरक्षा निकाय प्रमुख तथा प्रमुख जिल्ला अधिकारी गणेश अर्याल समेतलाई आफूले पटकपटक जानकारी गराइसकेको उनले बताए ।

शंकर

Link copied successfully