क्यामरा ट्रयापिङ र प्राविधिक टोलीको प्रयासले पहिचान गर्न नसकेपछि बाघको निगरानीमा चुनौती
What you should know
पर्सा — पर्सा राष्ट्रिय निकुञ्जसँग जोडिएको बाराको वन क्षेत्रमा एक महिना अघिदेखि गतिविधि गर्दै आएको नरभक्षी बाघ अझै फेला परेको छैन । जितपुर सिमरा उपमहानगरपालिका– २२ अमलेखगन्जमा असार ४ गते पाटेबाघको आक्रमणबाट चन्द्रबहादुर भ्लोनको मृत्युपछि उक्त बाघको खोजी कार्य सुरु गरिएको थियो ।
निकुञ्ज कार्यालय आधाभारका सूचना अधिकृत सन्तोषकुमार भगतका अनुसार निकुञ्जको वन क्षेत्रमा नपरे पनि स्थानीयको माग र आग्रहलाई मध्यनजगर गरी बाघको पहिचान, नियन्त्रण तथा निगरानीका लागि सम्भावित क्षेत्रमा क्यामरा जडान गरी क्यामेरा ट्रयापिङ गर्दा पनि बाघ कैद भएको छैन । ‘प्रभावित क्षेत्रमा हामीले ८ वटा क्यामरा जडान गरी ट्रयापिङको प्रयास गर्यौं,’ उनले भने, ‘तर कुनै पनि क्यामेरामा एक पटक पनि उक्त बाघ कैद भएन ।’
असार १२ गते राष्ट्रिय प्रकृति संरक्षण कोष चितवन कार्यालयबाट डार्ट गर्ने प्राविधिक टोली झिकाएर सम्भावित क्षेत्रमा परिचालन गरिएकामा उक्त टोली पनि बाघ फेला पार्न नसकेर असार १२ गते फर्केको थियो । त्यसपछि प्रभावित क्षेत्रमा बाघले पशुधन क्षति गर्न थालेपछि पुनः उक्त प्राविधिक टोली झिकाएर असार १८ देखि पाडो राखेर 'लाइभ बाइटिङ' प्रविधिबाट पनि डार्टिङ गर्ने प्रयास असफल भएको भगतले बताए । पछिल्लो समय प्रभावित क्षेत्रमा स्थानीय बाघको पाइला देखेको सूचना दिएको भगतले बताए ।
पर्सा राष्ट्रिय निकुन्जमा सन् २००७ मा निकुन्जमा ८ वटा बाघ रहेकामा २०२२ मा ४१ पुगेको छ । पछिल्लो समय निकुञ्ज छेउछाउका मानव बस्तीमा मानव र बाघबीचको द्वन्द्व अत्यधिक बढेर दुई वर्षको अवधिमा ५ वटा बाघ मारिएको छ ।
यस वर्ष पुनः बाघ गणना कार्यक्रम सञ्चालन हुँदै छ । संरक्षणको क्षेत्रमा गरिएको प्रयासका कारण यस वर्षको गणनाले निकुञ्जमा बाघको संख्या ५५ देखि ६० को हाराहारीमा पुग्ने अनुमान गरिएको छ ।
