भारतीय प्रहरीको आक्रमणले सप्तरीका बासिन्दा त्रसित छन्। घटनापछि गाउँमा डरको वातावरण छ, स्थानीयले न्यायको माग गरिरहेका छन्।
What you should know
राजविराज — भारतीय प्रहरीले राति-राति बस्तीमा आएर धरपकड गर्न थालेपछि सप्तरीको छिन्नमस्ता गाउँपालिकास्थित धोबियाही र कोचाबखारीका सर्वसाधारण त्रसित बनेका छन् । अपराधी खोज्दै हतियार बोकेर बस्तीमा आउने गरेका प्रहरीले सर्वसाधारणलाई धरपकड गर्न थालेपछि उनीहरू त्रसित बनेका हुन् ।
गत बिहीबार राति छिन्नमस्ता गाउँपालिका–३ धोबियाही र वडा नम्बर ६ कोचाबखारीमा पुगेर भारतीय प्रहरीले कुटपिट गर्दै धरपकड गरेको स्थानीयको आरोप छ । भारत बिहारको कोरियापट्टीमा भएको हत्या घटनाका फरार आरोपित खोज्दै दुई वटा स्कार्पियो र चार वटा मोटरसाइकलमा हतियारसहित नेपाली बस्तीमा आएका थिए ।
न्यौर बोर्डरबाट प्रवेश गरेका उनीहरूले सखडास्थित धोबियाही टोलमा पुगेर २२ वर्षीय रञ्जित सदा र २४ वर्षीय मनोज मण्डललाई बिहीबार साँझ नै नियन्त्रणमा लिई फर्किए । अपराधी पहिचान गर्ने भन्दै मुख बाँधेर ल्याएका एक जनासहित राति फेरि बस्तीमा आएका प्रहरीले कोचाबखारी पुगेर निर्मलादेवी सदा (कोरियापट्टी माइती भएकी)लाई कुटपिट गर्दै स्कार्पियोमा बस्न लगाए । दुई सय मिटर उत्तरतर्फको सदा टोलका २१ वर्षफय शंकरकुमार सदा र बालकुमार सदाको घरमा पुगेर मान्छे लुकाएको भन्दै महिला र बालबालिकालाई समेत कुटपिट गरेपछि बस्तीमा त्रास फैलिएको स्थानीयको आरोप छ ।
भारतीय प्रहरीबाट कुटिएका गरेका रञ्जित सदा र मनोज मण्डल ।
‘मलाई मान्छे लुकाएको भन्छन् तर मलाई केही थाहै छैन, त्यो कुरा भनिरहँदा कुटपिट गर्दै स्कार्पियोमा बस्न लगायो,’ निर्मलादेवीले भनिन्, ‘बन्दुक देखाउँदै बोल्छौ भने गोली हानिदिन्छु भन्दै धम्की दियो, परको बस्तीमा जाँदा गाडीबाट निकालेर कहाँ छ मान्छे देखाऊ भन्न थालेपछि मान्छेहरूको भीडभाड हुन थाल्यो, केही प्रतिकार पनि गरे । त्यही बेला म त्यहाँबाट भाग्न सफल भए ।’
प्रहरी चौकी सखडाका हवलदार सुरेश मेहतासहित दुई जनाले पनि कुटपिट गर्ने भारतीय प्रहरीलाई नै सघाइरहेको स्थानीय लालदेव सदाले गुनासो गरे । ‘सादा पोसाकका भारतीय प्रहरीले हामीमाथि ज्यादती गरिरहँदा हाम्रा प्रहरीले रोक्ने प्रयास समेत गरेनन्, राति डरले निदाउन पाउँदैनौँ,’ उनले थपे, ‘फेरl कुनै बेला आएर हामीलाई कुटपिट गर्नसक्छ, त्यसैले हामी बोल्न चाहिरहेका थिएनौँ ।’ नियन्त्रणमा लिएका रञ्जित र मनोजलाई निर्दोष रहेको भन्दै शुक्रबार बिहान छाडे पनि दुवै जना निर्घात कुटिएका छन् ।
गाउँपालिकाका अध्यक्ष विद्यानन्द चौधरीले भारतीय पक्षबाट स्थानीयलाई त्रसित पार्ने कार्य गरिरहेको भन्दै प्रहरी/प्रशासनलाई गम्भीर बन्न आग्रह गरे । ‘अपराधी समात्ने नाममा स्थानीयलाई त्रसित पार्न पाइँदैन, भारतीयले कानुनको पालना गर्नुपर्छ’ उनले भने, ‘हाम्रा प्रहरी/प्रशासनलाई गम्भीर बन्नुपर्छ ।’
प्रमुख जिल्ला अधिकारी भोला दाहालले नेपाल छिरेर भारतीय प्रहरीले कुटपिट गरेको विषय जानकारीमा नरहेको बताए । ‘उनीहरू आउँदा समन्वय गरेर आउनुपर्ने हो, त्यस्तो भएको हो भन्ने प्रहरीलाई जानकारी हुनुपर्ने हो,’ उनले भने, ‘थप बुझ्ने कार्य भइरहेको छ ।’
