भटमास, सूर्यमुखी,पाम र तोरीको तेलको निकासीले वीरगन्ज नाकाको व्यापार घाटा घटायो

१ खर्ब १ अर्ब रुपैयाँ बराबरको मालवस्तु निर्यात

श्रावण ११, २०८२

शंकर आचार्य

The export of soybean, sunflower, palm and mustard oil reduced the trade deficit of Birgunj channel

What you should know

पर्सा — भटमास, सूर्यमुखी र पामको प्रशोधित तेल तथा तोरीको तेल भारततर्फको निकासी ह्वात्तै बढ्दा मुलुकको प्रमुखस्थल नाका वीरगन्ज नाकाबाट गत आर्थिक वर्षमा व्यापार घाटामा कमी आएको छ ।

वीरगन्ज भन्सार कार्यालयको तथ्यांक अनुसार, अघिल्लो आवमा यो नाका हुँदै ५ खर्ब ४३ अर्ब रुपैयाँ बराबरको माल वस्तु भारत तथा तेस्रो मुलुकबाट आयात भएकोमा ३१ अर्ब १४ करोड रुपैयाँ बराबरको मालवस्तु निर्यात भएको थियो । 

गत आवमा ६ खर्ब २५ अर्ब रुपैयाँ बराबरको मालवस्तु आयात भएको छ भने १ खर्ब १ अर्ब रुपैयाँ बराबरको मालवस्तु निर्यात भएको छ । तुलनात्मक रुपमा अघिल्लो आव भन्दा गत आवमा आयात १५ दशमलव १४ प्रतिशतले बढ्दा निर्यात २ सय २७ दशमलव ०१ प्रतिशतले बढेको छ ।

गत आवमा निर्यात मूल्यको आधारमा वीरगन्ज नाका हुँदै भारत तथा तेस्रो मुलुक निकासी भएका प्रमुख २० वस्तुहरुको सूचीमा भटमास र सूर्यमुखीको तेल पहिलो र दोस्रो नम्बरमा रहेको छ । पामको प्रशोधित तेल १२ औं र तोरीको तेल १७ औं नम्बरमा रहेको छ । 

अघिल्लो आर्थिक वर्षको तुलनामा गत आवमा यी चार वटै तेलको निकासी उच्च भएको तथ्यांकले बताउँछ । पहिलो नम्बरमा रहेको भटमासको प्रशोधित तेल अघिल्लो आवमा जम्मा ९ करोड रुपैयाँ बराबरको ४ लाख ६४ हजार १ सय ३८ लिटर निकासी भएको थियो । गत आवमा ६१ अर्ब ४५ करोड रुपैयाँ बराबरको २९ करोड १४ लाख ९१ हजार लिटर यो तेल निकासी भएको छ । 

त्यसैगरी, अघिल्लो आवमा १० करोड रुपैयाँ बराबरको ५ लाख २७ हजार २ सय ९१ लिटर सूर्यमुखीको प्रशोधित तेल निकासी भएको थियो । गत आवमा ९ अर्ब २६ करोड रुपैयाँ बराबरको ४ करोड १५ लाख लिटर सूर्यमुखीको प्रशोधित तेल निकासी भएको छ ।

अघिल्लो आवमा १५ करोड रुपैयाँ बराबरको ९ लाख ३९ हजार लिटर प्रशोधित पामको तेल निर्यात भएकोमा गत आवमा ७४ करोड रुपैयाँ बराबरको ३९ लाख लिटर यो तेल निकासी भएको छ । त्यसैगरी, अघिल्लो आवमा ११ लाख रुपैयाँ बराबरको २२ हजार ९ सय लिटर तोरीको तेल निकासी भएकोमा गत आवमा ३२ करोड रुपैयाँ बराबरको १७ लाख ४२ हजार लिटर तोरीको तेल निकासी भएको छ ।

चारवटै तेल निर्यातको प्रमुख गन्तव्य भारतनै रहेको छ । तेस्रो मुलुककबाट आयात हुने यी तेलको कच्चा पदार्थ प्रशोधन गरेर भारत निकासी गर्ने गरिएको छ । तुलनात्मक रुपमा भारतमा उत्पादन हुने यी तेल भन्दा नेपालमा उत्पादन हुने तेल सस्तो भएकाले भारतीय उपभोक्ता बजारमा यी नेपाली तेलको राम्रो पकड रहेको छ । 

वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष हरी प्रसाद गौतम चार प्रकारका तेलको निकासी बढ्दा व्यापार घाटा नै कम हुन्छ भने सरकारले अन्य वस्तुको निकासीलाई पनि प्रोत्साहन गर्नुपर्ने बताउँछन् । ‘नेपाल अन्तर्राष्ट्रिय बजारमा उपभोग हुन थप कतिपय वस्तुको प्रमुख निकासीकर्ता बन्न सक्छ,’ उनले भने, ‘त्यस्ता वस्तुहरुको पहिचान गरी तीनको निकासीलाई प्रोत्साहन गर्ने सरकारी नीति र प्रयास हुने हो भने हाम्रो उच्च व्यापार घाटामा समेत व्यापक कमी आउन सक्छ ।’

शंकर आचार्य कान्तिपुरका पर्सा संवाददाता हुन् ।

Link copied successfully