धनुषा र सिरहाका ती किशोरीलाई बिहारको सिवानबाट स्वदेश फिर्ता ल्याइएको हो
What you should know
पर्सा — भारतको एक बाल कल्याण गृहमा एक महिनादेखि आश्रित दुई नेपाली किशोरीलाई उद्धार गरी स्वदेश फिर्ता ल्याई अभिभावकको जिम्मा लगाइएको छ ।
बेचविखन विरुद्ध सक्रिय संस्था आफन्त नेपाल वीरगन्ज शाखाले उनीहरुलाई शुक्रबार जिल्ला प्रशासन कार्यालयको रहोबरमा अभिभावकलाई जिम्मा लगाई घर फिर्ता पठाएको हो । शाखा प्रमुख मनु रानाका अनुसार, १९ वर्षका मधेश प्रदेशको धनुषा र सिरहाका ती किशोरीलाई बिहारको सिवानस्थित बाल कल्याण गृहबाट आफन्त इन्डिया फाउन्डेसनको समन्वयमा जिम्मा लिई बिहीबार स्वदेश फिर्ता ल्याइएको हो ।
तीमध्ये धनुषाकी किशोरी करिब तीन महिनाअघि बिहार छपरास्थित अस्मिता अर्केस्ट्रा समूहमा पुगेकी थिइन् । गाउँकै एक दलालले उनलाई त्यहाँ पुर्याएका थिए । करिब तीन महिना अर्केस्ट्रामा बस्दा उनलाई मदिरा सेवन गराएर जबर्जस्ती नृत्य गराउने, कोठामा थुनेर राख्ने, कुटपिट गर्ने, नृत्य गरेको पारिश्रमिक नदिने जस्ता दुर्व्यवहार हुँदै आएको उनीहरुले बताएका छन् । भारतीय प्रहरीले एक महिनाअघि उनीहरुको उद्धार गरेर बालकल्याण गृहको जिम्मा लगाएको थियो ।
सिरहाकी अर्की किशोरी भने एक महिनाअघि मात्र छपरा पुगेकी थिइन् । उनी त्यहाँस्थित एक अर्केस्ट्रामा पुगेको तेस्रो दिनमै भारतीय प्रहरीले आफूलाई पनि उद्धार गरेर गृहको जिम्मा लगाएको बताइन् । आफूले एक पटक पनि नृत्य नगरेको उनले बताइन् । एक वर्षअघि आफू छपराकै एक अर्केस्ट्रामा नृत्य गरेर तीन महिना पघि १० हजार भारु कमाएर फर्किएको उनले बताएकी छन् ।
सोही गृहमा अझै ३ जना नेपाली युवती आश्रित रहेको रानाले जानकारी दिइन् । यस बाहेक छपराकै एक अर्केस्ट्रामा बुटवलकी एक युवती पनि नारकीय जीवन बिताइरहेको सूचना आफूले पाएको र उनीहरु चारै जनालाई स्वदेश फिर्ता ल्याउने प्रयासमा आफू रहेको उनले बताइन् ।
