काठमाडौँ — सिरहामा खुकुरी प्रहारबाट एक जनाको ज्यान गएको छ । गोलबजार नगरपालिका-३ का २५ वर्षीय श्याम सदाको खुकुरी प्रहारबाट ३५ वर्षीय मोतीराम सदाको मृत्यु भएको हो ।
उनीहरू आफ्नै दाजुभाइ हुन् । बिहीबार राति श्याम र उनकी श्रीमती १९ वर्षीया कौशल्या सदाबीच घरायसी विवाद भएको थियो । उनीहरूलाई सम्झाउने क्रममा श्यामले दाइ मोतीराममाथि खुकुरी प्रहार गरेको प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय, गोलबजारका प्रमुख प्रहरी निरीक्षक गोविन्दप्रसाद साहका अनुसार छातीमा खुकुरी प्रहारबाट गम्भीर घाइते उनलाई उपचारका लागि प्रादेशिक अस्पताल लहान ल्याइएकोमा अस्पतालले मृत घोषणा गरेको थियो ।
खुकुरी प्रहार गरी त्यतिखेरै जंगलतर्फ भागेका श्याम अझै फरार छन् । उनको खोजीकार्य र घटनाको थप अनुसन्धान कार्य भइरहेको प्रहरी निरीक्षक साहले बताए ।
