What you should know
पर्सा — विदेशी उत्पादनसँग प्रतिस्पर्धा गर्न नसक्दा नेपालकै पहिलो आहारपूरक उद्योग संकटमा परेको छ । भारत लगायतका मुलुकबाट निर्वाध रुपमा आहारपूरक (डाइटरी सप्लीमेन्ट)को आयातले पर्सा–बारा औद्योगिक कोरिडोरको परवानीपुरमा रहेको आहारपूरक उद्योग ‘जयश्री हेल्थकेयर’ रुग्ण अवस्थामा पुगेको हो ।
उद्योगका सञ्चालक साकेत क्यालले विशेषगरी भारतबाट जभाभावी ढंगले आयातित डाइटरी सप्लीमेन्टले स्वदेशी उद्योगलाई धरासायी बनाउन खोजेको गुनासो गरे । सरकारी नीतिको कारण आयातित आहारपूरकहरुसँग स्वदेशी डाइटरी सप्लीमेन्ट उद्योगले प्रतिस्पर्धा गर्न नसकेको उनले बताए ।
मानव शरीरमा सन्तुलित आहारको कमीलाई परिपूर्ति गर्नका लागि डाइटरी सप्लीमेन्ट लिने गरिन्छ । सरकारले औषधि उद्योगलाई एक प्रतिशत भन्सार महसुलमा कच्चा पदार्थ र प्याकेजिङ सामग्री ल्याउन दिए पनि आहारपूरकलाई भने २० देखि ४० प्रतिशतसम्म भन्सार महसुल र मूल्य अभिवृद्धिकर निर्धारण गरेकाले उद्योग सञ्चालन गर्नै नसक्ने अवस्था आएको क्याल बताउँछन् ।
सरकारले औषधिको कच्चा पदार्थ जस्तै यसको पनि कच्चा पदार्थ आयातमा सहजीकरण गर्नुपर्ने उनले बताए । एक वर्षअघि ४० करोड रुपैयाँको लगानीमा स्थापना गरी सन्चालन गरेको आफ्नो उद्योगले हाल बजारमा २ करोड बढीको औषधि बिक्री वितरणका लागि पठाए पनि ६० लाख रुपैयाँको मात्र बिक्री हुन सकेको उनले बताए ।
उद्योगले भारतबाट वार्षिक १ करोड देखि १ करोड ५० लाख रुपैयाँको कच्चा पदार्थ आयात गरी रहेको छ । कम्पनीले हाल ५० जनालाई प्रत्यक्ष रोजगारी दिएको छ । उद्योगले ४० प्रकारका फुड सप्लीमेन्ट उत्पादन गरी रहेको छ ।
नेपालमा गत आर्थिक वर्षमा करिब डेढ अर्ब रुपैयाँ बराबरको डाइटरी सप्लीमेन्ट भारत तथा तेश्रो मुलुकबाट भित्रिएको अवस्थाामा स्वदेशी उद्योगलाई पनि सरकारी असहयोग र झन्झटिला कानुनहरुले रुग्ण बनाइएको क्यालले आरोप लगाए । सरोकारवाला निकायहरुबाट आवश्यक सहयोग र समन्वय नहुँदा उद्योग सञ्चालन गर्नै समस्या भएको उनको भनाइ छ ।
आयातित फुड सप्लीमेन्ट गुणस्तरहीन हुन सक्ने र त्यसले जनस्वास्थ्यमा समेत गम्भिर असर पार्न सक्ने उच्च जोखिम रहे पनि सरोकारवाला निकायहरु त्यस तर्फ गम्भीर नभएको उनको आरोप छ ।
डाइटरी सप्लीमेन्टको नियामक निकाय खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको कार्यालयसँग पर्याप्त जनशक्ति र प्राविधिक नहुँदा पनि आवश्यक समन्वय गर्न समस्या भइरहेको उनले बताए । औषधि व्यवस्था विभागले पनि औषधि ऐनको दुरुपयोग गरेर स्वदेशी फुड सप्लिमेन्टलाई औषधि पसलहरुमा बिक्री वितरणमा अवरोध गर्ने गरेको उनले गुनासो गरेका छन् ।
क्यालले विदेशी डाइटरी सप्लीमेन्टहरु बिना दर्ता र स्वीकृति बिनै भित्रिने गरेकाले तीनलाई आवश्यक नियमन गर्न आवश्यक रहेको पनि उनले बताए ।
नेपालमै गुणस्तरीय, जिपिएम प्रमाणित, स्वास्थ्य केन्द्रित उत्पादनहरू निर्माण गर्दै आएको आफ्नो कम्पनी अहिले नियम नमान्नेहरूमाथि कारबाही नगर्ने र नियम पालना गर्नेहरूमाथि दमन गर्ने सरकारको दोहोरो मापदण्डका कारण बाँच्नै मुस्किल भएको उनले बताए ।
औषधि व्यवस्था बिभागले स्वीकृत तथा दर्ता गरिएका फूड सप्लिमेन्ट उत्पादनहरूलाई औषधिको रूपमा व्याख्या गर्दै फार्मेसीहरूलाई धम्की दिने, बिक्रीमा रोक लगाउने, र अनावश्यक रूपमा नियन्त्रण गर्ने कार्य गरी रहेको र यो पूर्णरूपमा गैरकानुनी रहेको उनले बताए ।
यसरी स्वास्थ्य मन्त्रालय र औषधि व्यवस्था विभागले अदालतको आदेशको खुला अवहेलनासमेत गरी रहेको उनको आरोप छ । सर्वोच्च अदालतले फूड सप्लिमेन्टलाई औषधिको रूपमा हेर्न नपर्ने आदेश यसअघि नै दिइसकेको उनले बताए । पाटन उच्च अदालतबाट यस्तो व्यवहार रोक्न आदेश जारी गरे पनि सरोकारवाला निकायहरु अटेर गरी बसेको उनको आरोप छ ।
