सर्लाही — भारतबाट लुकाइछिपाइ ल्याउँदै गरेको ठूलो परिमाणमा अवैध सामान सशस्त्र प्रहरीले बरामद गरेको छ । सशस्त्र प्रहरी बल नेपाल नं. १० गणले १ करोड ५८ लाख ५५ हजार रुपैयाँ बराबरको सिगरेट र रेडिमेड कपडा ईश्वरपुर नगरपालिका–२ स्थित तुलसी पशुपालन फार्मबाट बरामद गरेको हो ।
फार्ममा लुकाइएको अवैध सामान विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी, भन्सार कार्यालय र ईलाका प्रहरी कार्यालय लालबन्दीको संयुक्त टोलीको सहयोगमा बरामद गरिएको सशस्त्र प्रहरी उपरीक्षक देवबहादुर चन्दले जानकारी दिए । उनका अनुसार फार्मबाट सिगरेट ८ लाख थान, साडी १२२५ थान, कुर्था सुरुवाल ९०२ थान, र थानको कपडा १३३० मिटरसमेत बरामद गरिएको छ, जसको मूल्य १करोड ५८ लाख ५५ हजार रुपैयाँ छ ।
बरामद गरिएको सबै सामान सर्लाही भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरी १० नम्बर गणले जनाएको छ ।
