What you should know
महोत्तरी — गौशाला बजार ठेक्काको राजश्व संकलन विवादकाबीच नगरपालिकाले गोरु, खशी र माछा बजार लाग्ने स्थान सारेको छ । निगौल गाई गौशालाको जग्गामा लाग्दै आएको बजार ठेक्काको राजश्व संकलन विवाद भएपछि नगरपालिकाले गोरु, खसी र माछा बजार अन्यत्र सारेको हो ।
साविकमा बजार लाग्ने स्थानमा प्रहरी सुरक्षाका लागि खटिएका छन् । नगर प्रहरी बजार सारिएको क्षेत्रमा खटिएका छन् । निगौल गाई गौशाला र नगरपालिकाबीच राजश्व संकलनको विषयमा विवाद चर्केपछि मधेशकै पुरानो पशु बजारको स्थान परिवर्तन गरिएको छ ।
चौपाया खरिद बिक्रिका लागि संरचना बनाएको स्थानबाट नगरपालिकाले अन्यत्र बजार सारेपछि पशु खरिद बिक्री प्रभावित भएको छ । नदी किनारमा रहेको नयाँ बजारमा पशु चौपाया राख्ने छहारी नभएको, पानी, शौचालय नभएको र सुरक्षित महसुस नभएको व्यपारीहरुले बताए ।
नगरपालिकाले बिहीबार लाग्ने बजारको स्थान परिवर्तन गरेको सूचना बुधबार निकालेर स्थान सारेको हो । गौशाला नगरपालिकाको निर्णय अनुसार गोरु बजार, खशी बजार र माछा बजार साविकमा लाग्दै आएको स्थानमा बजार लाग्न निषेध गरी गौशाला बजार मराहा पुलको दक्षिण पूर्वपट्टी रहेको नगरपालिकाको कृषि उपज केन्द्रमा सारिएको निमित प्रमुख प्रशासकीय अधिकृत मनोज कुमार महराले निकालेको सूचनामा उल्लेख गरिएको छ ।
गौशाला नगरपालिकाले २०७० सालमा बजारबाट उठेको रकमबाट २५ प्रतिशत रकम गाई गौशालालाई दिने शर्तमा गाई गौशाला गोरु बजार ठेक्का लाग्दै आएको थियो । तर, गाई गौशालालाई दिनुपर्ने रकम भुक्तानी नगरेको विषयलाई लिएर गौशाला नगरपालिका पक्ष र गाई गौशाला पक्षबीच सोमबार बिहानै झडप भएको थियो ।
