What you should know
पर्सा — वीरगन्जस्थित मधेश प्रदेशको पहिलो पोषण पुनर्स्थापना केन्द्रमा गत आर्थिक वर्षमा १ सय ४२ कुपोषित बालबालिकाको उपचार गरिएको छ ।
केन्द्रकी प्रमुख सरिता यादवका अनुसार, गत आव भरीमा केन्द्रमा पर्सा, बारा, रौतहट, सर्लाही र भारतकासमेत गरी १ सय ४२ जना ५ वर्ष मुनिका कुपोषित बालकालिका उपचारार्थ भर्ना भएका थिए ।
तीमध्ये १ सय २६ लाई पूर्ण स्वस्थ्य बनाई घर फिर्ता पठाइएको छ । बारा घर भई वीरगन्जमा बस्दै आएकी १ बालिकाको उपचारको क्रममा मृत्यु भएको थियो । उनलाई सुकेनाश लागेको थियो ।
बाँकी अन्य कुपोषित बालबालिकालाई अन्यत्र रिफर गरिएको थियो । यस भेगमा बालबालिकामा कुपोषणको समस्या बढी देखिनुमा अभिभावककै लापरबाही जिम्मेवार रहेको पाइाएको यादव बताउँछिन् ।
अभिभावकले नै आफ्ना छोराछोरीलाई चाउचाउ, बिस्कुट, मम, चाउमिनजस्ता तयारी खाना बढी दिने प्रवृत्तिले अधिकांश बालबालिका कुपोषित भइरहेको उनले बताइन् ।
‘अशिक्षित अभिभावकबाट पोषिलो खाने कुराको आशा गर्न सकिँदैन,’ उनले भनिन्, ‘तर शिक्षित अभिभावक नै आफ्ना छोराछोरीलाई घरमा पकाएर पोषिलो खाना नदिई बाहिर पाइने तयारी खाने कुरा दिन्छन् ।’
कतिपय अभिभावकले छोराछोरीलाई विद्यालयको टिफिनमा पनि यस्ता तयारी खाना पठाउने प्रवृत्तिले बालबालिकामा कुपोषण देखिने गरेको छ । केन्द्रमा आउने कतिपय कुपोषित बालबालिका यहाँबाट स्वस्थ्य भई घर फर्किएपछि पनि दोहोरिएर कुपोषित भएर आउने समस्या पनि रहेको उनले बताइन् ।
यसरी छोराछोरीको खानपानमा ध्यान नदिने प्रवृत्तिले तराई मधेशमा कुपोषणको समस्या अभिभावकबाटै बढी श्रृजित भइरहेको छ । विश्व स्वास्थ्य संगठनको पछिल्लो मापदण्ड अनुसार उचाई अनुसारको तौल नभएका बालबालिकामा कुपोषणको समस्या रहेको यकिन गर्ने गरिएको यादव बताउँछिन् ।
सामान्यतया नवजात शिशुको उचाई कम्तीमा ५० सेमी हुनुपर्ने र त्यसपछि अर्को वर्ष उक्त शिशुको उचाई २५ सेन्टीमिटर, फेरि अर्को वर्ष १२ दशमलव ५ सेमी र त्यस पछिको वर्ष पनि १२ दशमलव ५ सेमीको दरले उचाई वृद्धि भएको हुनुपर्ने उनले बताइन् ।
बालबालिकामा सामान्यतया पुड्कोपना र ख्याउटेपना, उमेर अनुसार कम तौल र सुक्ष्म तत्वको कमीले हुने गरी ३ खालका कुपोषण हुने गरेको उनले बताइन् ।
