सर्लाही — चिकित्सकमाथि हातपात भएपछि सदरमुकाम मलंगवास्थित प्रादेशिक अस्पतालको ओपीडीबाहेकका सेवा बन्द गरिएको छ। अस्पताल बन्द हुँदा गाउँ–गाउँबाट आएका बिरामी मारमा परेका छन्।
चिकित्सकमाथि हातपात भएपछि मंगलबारदेखि अस्पतालमा ओपीडी सेवा बन्द गरिएको हो। अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा सञ्जीव सिंहले दोषीमाथि कानुनी कारबाहीको माग गर्दै अस्पतालको आकस्मिकबाहेकका सम्पूर्ण सेवा बन्द गरिएको जानकारी दिएका छन्।
अस्पतालमा दुर्घटनापछि हड्डी भाँचिएर उपचारमा आएका मलंगवाकै एक जना बिरामीलाई अन्यत्र रेफर गर्ने विषयलाई लिएर सोमबार राति बिरामीका आफन्तले अस्पतालमा कार्यरत अर्थोपेडिक डा. कृष्णजङ्ग साहमाथि हातपात गरेका थिए।
डा साहमाथि हातपात गर्नेलाई तत्काल पक्राउ गरी कारबाही गर्न माग गर्दै अस्पतालमा कार्यरत चिकित्सक तथा अन्य स्वास्थ्यकर्मीले आकस्मिकबाहेकका सबै सेवा ठप्प पारेका हुन्।
नेपाल चिकित्सक संघले प्रेस विज्ञप्ति जारी गरी चिकित्सकमाथि हातपात गर्ने व्यक्तिलाई तत्काल पक्राउ गरी कारबाही गर्न माग गरेको छ। मलंगवा अस्पतालको ओपीडी सेवा ठप्प हुँदा अस्पतालमा उपचारका लागि आएका बिरामी मारमा परेका छन्।
