सर्लाही — सर्लाहीको गोडैता नगरपालिका–८ मा एकैरात चारवटा घरमा ठूलो परिमाणमा नगद, गरगहना र अन्य सामग्री चोरी भएको छ । चोरको समूहले सुरुङ खनेर घरभित्रबाट चोरी गरेका हुन् ।
स्थानीय जोगी मण्डल खत्वे, सफी महम्मद दर्जी, रहमत दर्जी र पीर मिहम्मद मन्सुरको घरमा अज्ञात समूहले चोरी गरेका हुन् । पीडित परिवारका अनुसार चोरले घरको माटो खनी सुरुङ बनाइ चोरी गरेका छन् ।
जोगी मण्डलको घरबाट दुई थान मोबाइल र नगद ३५ हजार रुपैयाँ चोरी भएको छ । त्यसैगरी, सफी महम्मद दर्जीको घरबाट भारु १० हजार नगद चोरी भएको छ ।
रहमत दर्जीको घरबाट एक थान मोबाइल र नगद २ हजार रुपैयाँ चोरी भएको छ भने पीर मिहम्मद मन्सुरको घरबाट चोरले लत्ता–कपडासहित जग्गा खरिदको लागि राखिएको नगद ५ लाख ६ हजार रुपैयाँ र गरगहना समेत चोरले लगेको पीडितले बताएका छन् ।
घटनाको जानकारी पाएलगत्तै प्रहरी टोली घटनास्थलमा पुगेर अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । चोरीको घटनाले गाउँले त्रसित भएका छन् ।
