गौशाला र नगरपालिकाबीच असमझदारी हुँदा विवाद निम्तिएको मेयर महतोको स्वीकारोक्ति

श्रावण ६, २०८२

सन्तोष सिंह

Mayor Mahato's admission that the dispute arose due to disagreements between Gaushala and the municipality

महोत्तरी — गौशाला नगरपालिकाका प्रमुख डा.दिपेन्द्र महतोले निगौल गाई गौशाला व्यवस्थापन कार्यालय र नगरपालिकाबीच सामान्य असमदारी हुँदा अराजक समूहले विवाद चर्काएको आरोप लगाएका छन् ।

गौशाला बजार ठेक्का विवादमा सोमबार राजस्व संकलन क्रममा गौशाला र नगरपालिका पक्षधरबीच भएको झडपमा अराजक समूहको घुसपैठ भएको नगर प्रमुख महतोको आरोप छ ।

गौशाला व्यवस्थापन कार्यालयका कर्मचारीले केही अराजक व्यक्तिको समूह बनाई सुनियोजित तरिकाले झडप गराएको महतोले बताए । ‘राजस्व हिनामिना गरी नगरपालिकालाई डर, धाक र धम्कीको चुनौती नै दिन यो क्रियाकलाप भएको देखिन्छ । सोमबार भएको घटना जबरजस्ती नियमविपरीत राजस्व उठाउनु र गुण्डागर्दी गर्नु हो,' उनले भने ।

स्थानीय बजार व्यवस्थापन स्थानीय तहको एकल अधिकार सूचीमा रहेको उल्लेख गर्दै महतोले गौशाला बजार ठेक्का बन्दोबस्त गरी आन्तरिक आय संकलन गर्दै आएको विज्ञप्तिमार्फत सम्झाएका छन् ।२०८२/०८३ मा खुल्ला डाकबढाबढ प्रक्रियाअनुसार कानुनसम्मत ठेक्का सम्झौता गरिसकेको अवस्थामा गौशाला व्यवस्थापन कार्यालयका कर्मचारीले कार्यालयकै नाममा मवेशी बजारको नामले जबरजस्ती कानुनविपरीत रसिद काटी बजारमा गुण्डाशैलीमा बजारको आय असुली गरेको महतोले आरोप लगाए ।

नगरपालिकाले २०७० सालमा बजारबाट उठेको रकमबाट २५ प्रतिशत रकम गौशालालाई दिने सर्तमा बजार ठेक्का लाग्दै आएको थियो । तर, गौशालालाई दिनुपर्ने रकम भुक्तानी नगरेको विषयलाई लिएर गौशाला र नगरपालिका पक्षधरबीच सोमबा र झडप भएको थियो ।

नगरपालिकाले ठेक्काबापतको ५ करोडभन्दा बढी बाँकी रहेको रकम दिन नमानेपछि पशुबजार ठेक्का आफैं लगाउने प्रक्रिया अगाडि बढाउँदा नगरपालिकाले अवरोध गरेको गौशालाका कार्यालय प्रमुख वीरबहादुर चौधरीले बताए । 

सन्तोष सिंह कान्तिपुरका महोत्तरी संवाददाता हुन् ।

Link copied successfully