परीक्षा केन्द्र सारेको विरोधमा महेन्द्र विन्देश्वरी क्याम्पसमा प्रदर्शन 

क्याम्पस प्रमुख भन्छन्- 'त्रिविमा पुगेर केन्द्र फर्काउन प्रयास गर्दासमेत सुनुवाइ भएन'

श्रावण ६, २०८२

विद्यानन्द राम

Demonstration at Mahendra Vindeswari Campus against shifting of examination center

What you should know

राजविराज — परीक्षा केन्द्र सारेर विद्यार्थीलाई दुःख दिन खोजेको भन्दै स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) आबद्ध विद्यार्थीले महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पस राजविराजमा मंगलबार प्रदर्शन गरेका छन् ।

उनीहरुले एक साताअघि नै क्याम्पस प्रमुखको कक्षमा तालाबन्दी गरेर व्यवस्थापन संकायतर्फको स्नातक तह (बीबीएस) तेस्रो र शिक्षा शास्त्रतर्फको स्नातकोत्तर (एमएड) प्रथम वर्षको परीक्षा केन्द्र सारेकामा विरोध जनाउँदै आएका थिए । 

क्याम्पस प्रमुख सुशीलचन्द्र कर्णले तीन दिनअघि आश्वासन दिएर काठमाडौंतिर लागे पनि पछिल्लो पटक पुनः कानुन संकायतर्फ स्नातक तह (एलएलबी) दोस्रो वर्षको परीक्षा केन्द्र सारिएको पाएपछि प्रदर्शन गर्न बाध्य भएको स्ववियु राजविराजका सभापति रञ्जितकुमार यादवले बताए । 

यसअघि राजविराजबाटै सञ्चालन हुँदै आएको एलएलबीको परीक्षा केन्द्र यसपालि जेएस मुरारका क्याम्पस लहान, सिरहामा सारिएको छ । त्रिभुवन विश्वविद्यालयले सार्वजनिक गरेको तालिकाअनुसार बुधबारदेखि एलएलबी दोस्रो वर्षको परीक्षा हुँदै छ । तर, स्ववियुआबद्ध विद्यार्थी आन्दोलित रहँदा यहाँका परीक्षार्थीमा पनि परीक्षामा सहभागी हुने विषयमा अन्योल देखिएको छ । यहाँ एलएलबी दोस्रो वर्षमा ३ सय विद्यार्थी अध्ययरत छन् । 

क्याम्पस प्रमुख कर्णले परीक्षा केन्द्र सारिँदा आफूलाई पनि दुःख लागेको भन्दै त्रिविमा पुगेर केन्द्र फर्काउन प्रयास गर्दासमेत सुनुवाइ नभएको बताए । ‘परीक्षा मर्यादित गराउने मेरो दायित्व र जिम्मेवारी हो, एकपटक मलाई परीक्षा सञ्चालन गराउन मौका दिनू भनी त्रिविमा सबैतिर गुहारेँ तर कसैले सुनेनन्,’ उनले भने, ‘म प्रमुख बनेकै तीन महिनाजति भयो, व्यापक सुधार गर्नुछ तर मौका नै पाइरहेको छैन ।’ 

विद्यानन्द राम विद्यानन्द राम कान्तिपुरका सप्तरी संवाददाता हुन् । उनी समसामयिक बिषयमा रिपाेर्टिङ गर्छन् ।

Link copied successfully