महोत्तरी — महोत्तरीको बर्दिवास–५ स्थित बर्दिवास मेडिकल कलेजले वृक्षारोपण गरेको क्षेत्रमा एक पुरुष मृत फेला परेका छन्। बर्दिवासस्थित नमुना मुसहर बस्तीका ३० वर्षीय सञ्जीव सदा मृत फेला परेका इलाका प्रहरी कार्यालय बर्दिवासले जनाएको छ। उनी दुखा सदाका छोरा भएको पुष्टि भएको छ।
बर्दिवास मेडिकल कलेजले जग्गा प्राप्तिका लागि गरेको वृक्षारोपण क्षेत्रको काँडे तारभित्र शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए।
अस्थायी प्रहरी पोस्ट माईस्थानबाट प्रहरी नायब निरीक्षक (प्रनानि) मेघु राय यादवको कमान्डमा प्रहरी टोली खटाई मुचुल्का उठाइएको इलाका प्रहरी कार्यालय बर्दिवासका प्रमुख प्रहरी नायब उपरीक्षक (प्रनाउ) विकास बमले जानकारी दिए।
मृतक व्यक्ति लामो समयदेखि मानसिक सन्तुलन गुमाएका र अत्यधिक मादक पदार्थ सेवन गर्ने गरेको खुलेको प्रहरीले जनाएको छ।
इलाका प्रहरी कार्यालय बर्दिवासबाट प्र.ना.उ. बमको कमान्डमा थप प्रहरी टोली घटनास्थलमा पुगेर अनुसन्धान जारी रहेको जनाइएको छ।
