युवतीले गरिन् युवकको हत्या

श्रावण ५, २०८२

कमलेश ठाकुर

The young woman killed the young man

What you should know

जनकपुरधाम — जनकपुरधाममा एक युवकको हत्या आरोपमा एक युवती पक्राउ परेकी छिन्। महोत्तरी पर्सा गाउँपालिका–१ पर्साका ३२ वर्षीय विमलेश यादवको हत्या आरोपमा महोत्तरी बनौटा घर भई जनकपुरधाम उपमहानगरपालिका–४ डेरा गरी बस्ने २१ वर्षीया जुली झा पक्राउ परेकी हुन्।

सोमबार जिल्ला प्रहरी कार्यालय धनुषाले आरोपी युवतीलाई सार्वजनिक गरेको छ। धनुषाका डीएसपी वरुणबहादुर सिंहले मृतक यादव विवाहित रहेको बताए। शनिबार राति करिब साढे ३ बजे जनकपुरधामस्थित जिरो माइलमा रहेको होटलमा युवक घाइते अवस्थामा फेला परेका थिए। डीएसपी सिंहका अनुसार युवाले पहिले गई रुम बुक गरेका थिए, त्यसपछि युवतीसँग गएको सिसीटिभीमा देखिन्छ। त्यसपछि राति ३ बजे उनीहरूबीच विवाद भएको अनुसन्धानबाट खुलेको छ।

'केटा विवाहित हो, तर उनीहरू पहिले नै प्रेम सम्बन्धमा रहेको देखिन्छ। त्यो सम्बन्ध कायमै राख्न केटाले बार्गेनिङ गरेको देखिन्छ,' उनले भने, 'सम्बन्धमा नरहे पुराना म्यासेज, फोटो लगायतका सामग्री सार्वजनिक गर्ने धम्की दिएपछि घटना भएको देखिन्छ।'

चक्कु प्रहार गरी घाइते बनाएर एकतलाबाट युवकलाई खसालेको पनि भिडियोमा देखिएको छ। त्यसपछि युवक बेहोस हुँदा नै युवती उनको छेउबाट भाग्न खोजेको देखिन्छ।

धनुषाका प्रहरी उपरीक्षक नरहरि रेग्मीले दुवै जना सम्बन्धमा रहेको र अझै त्यस्तो सम्बन्ध कायम राख्नुपर्ने विषयमा विवाद हुँदा घटना भएको देखिएको बताए। घटनाको थप अनुसन्धान भइरहेको छ।

कमलेश ठाकुर कमलेश कान्तिपुरका धनुषा संवाददाता हुन् । उनी समसामयिक विषयमा रिपाेर्टिङ गर्छन् ।

Link copied successfully