महोत्तरी गौशाला बजार ठेक्का विवाद : झडपमा ५ जना घाइते

श्रावण ५, २०८२

सन्तोष सिंह

Mahottari Gaushala market contract dispute: 5 injured in clashes

What you should know

काठमाडौँ — गौशाला बजारको राजस्व उठाउने विषयमा निगौल गाई गौशाला र गौशाला नगरपालिकाका समर्थकबीच विवाद हुँदा ५ जना घाइते भएका छन् ।

निगौल गाई गौशालाले आफ्नो जग्गामा लाग्ने पशु बजारको राजस्व अमानतमा संकलन गर्न थालेपछि गौशाला नगरप्रमुख डा. दीपेन्द्र महतोका आफन्तले हस्तक्षेप गर्दा विवाद भएको लोसपाका नेता प्रमोद महतोले बताए ।

दुई पक्षबीचको झडपमा गौशाला–४ का ३२ वर्षीय विपिन साह, २४ वर्षीय सिनुल साह, गौशाला–२ निगौलका विजय यादव, गौशाला–२ का वडाध्यक्ष ४० वर्षीय श्यामसुन्दर मण्डलको टाउकामा चोट लागेको र उनीहरुको उपचार भइरहेको इलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ ।

झडपमा गौशाला–२ निगौलका ४२ वर्षीय सुरेन्द्र महतोको बायाँ हातमा चोट लागेको प्रहरीले जनाएको छ । बजार ठेक्का विषयमा विवाद गर्ने दुवै पक्षबीच इलाका प्रहरी कार्यालय गौशालामा छलफल गर्ने सहमति भएपछि विहान तनावग्रस्त गौशाला बजारको अवस्था सामान्य बनेको छ ।

गौशाला नगरपालिकाले ठेक्का लगाउन पाउनुपर्ने पक्षधरले बजारमा रोकिराखिएको बागमती प्रदेश ०१–०२७ च ९७४७ नम्बरको गाडीको अगाडिको सिसा फुटाउनुका साथै तोडफोड गरेको छ । 

गौशाला-५ मा रहेको गाई गौशालामा गोरु बजार लाग्दै आएको छ । गौशाला नगरपालिकाले २०७० सालमा बजारबाट उठेको रकमबाट २५ प्रतिशत रकम गाई गौशालालाई दिने सर्तमा गाई गौशाला गोरु बजार ठेक्का लाग्दै आएको थियो । तर, गाई गौशालालाई दिनुपर्ने रकम भुक्तानी नगरेको विषयलाई लिएर गौशाला नगरपालिका पक्ष र गौशाला पक्षबीच सोमबार बिहानै झडप भएको इलाका प्रहरी कार्यालय गौशालले जनाएको छ ।

दुई पक्षबीच झडप भएपछि इलाका प्रहरी कार्यालय बर्दिबासका प्रहरी नायव उपरीक्षक विकास बमको कमाण्डमा र जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी निरीक्षक नन्दकिशोर प्रसाद चौहानको कमाण्डमा खटिएका प्रहरीले झडप नियन्त्रणमा लिएको थियो ।

गौशाला नगरपालिका कार्यालयले ठेक्काबापतको ५ करोडभन्दा बढी बाँकी रहेको रकम दिन नमानेपछि पशु बजार ठेक्का आफै लगाउने प्रक्रिया अगाडि बढाउँदा नगरपालिकाले अवरोध गरेको निगौल गाई गौशालाको कार्यालय प्रमुख वीरबहादुर चौधरीले बताए ।

राष्ट्रिय सहकारी विकास बोर्डको सञ्चालन तथा व्यवस्थापनमा रहेको निगौल गाई गौशाला व्यवस्थापन कार्यालय गौशालाको नाममा रहेको महोत्तरी जिल्ला गौशाला नगरपालिका वार्ड नं. ५ कित्ता नं. ८२, ८३, ८४ को २ बिघा १९ कठ्ठा ११ धुर जग्गामा गौशाला नगरपालिकाको कार्यालयले गोरु तथा खसी बजार सञ्चालन गर्न ठेक्कामा लगाउने कार्य गर्दै आएको छ ।  

सन्तोष सिंह कान्तिपुरका महोत्तरी संवाददाता हुन् ।

Link copied successfully