सर्लाही — पर्याप्त वर्षा नहुँदा सर्लाहीका अधिकांश किसानको खेत बाँझै छ । धान हरियै हुने बेला हुँदासमेत किसानले रोपाइँ गर्न पाएका छैनन् । धमाधम रोपाइँ गर्ने समयमा किसानको खेत सुक्खै छ ।
पानी अभावले धानको ब्याडमा लगाइएको बीउसमेत सुकेका छन् । यस वर्ष खडेरीको सामना गर्नुपर्ने हो कि भन्ने किसान चिन्तामा छन् ।
लघुवाका किसान शंकर महतोले सिञ्चित क्षेत्रमा खेत भए पनि रोपाइँ गर्न नसकिएको जानकारी दिए । पर्याप्त मात्रामा पानी नपर्दा बीउ सुकेका छन् । ‘कुलोको छेउमै खेत छ, तर नहरको पानी आउन सकेको छैन, पहिलो खेत हुने किसानले पानी घेरेका छन्, त्योभन्दा तलको किसानले पानी पाएकै छैनन्,’ उनले भने, ‘पानीका लागि दिनहुँ किसान–किसानबीच झगडा हुने गर्छ, यसले किसानबीचमै वैमनस्यता बढाएको छ, रोपाइँ र उत्पादन परको कुरा हो, बीउसमेत डढेको छ, रोपाइँ भएन भने के खाने भन्ने चिन्ता छ ।’
जिल्लामा असारको पहिलो सातादेखि साउनको पहिलो सातासम्म रोपाइँ हुने गरेको छ । तर, यस वर्ष वर्षा नभएका कारण साउन सुरु हुँदा समेत उल्लेख्य रूपमा रोपाइँ हुन सकेको छैन । यस वर्ष प्राकृतिक प्रतिकूलताका कारण धान रोप्न नपाएपछि किसान निराश छन् । कविलासी नगरपालिका–१ पिपरियाका किसान वीरेन्द्र पण्डितले यस वर्ष सुक्खाको सामना गर्नुपर्ने अवस्था आएको दुःखेसो पोखे । उनले सिँचाइ अभावका कारण रोपाइँ सुरु नै गर्न नपाएको गुनासो गरे । उनको डेढ बिघा खेत बाँझै छ ।
दुई महिनाअघि आकाशे पानीको भरमा छरेका बीउ बुढो भइसक्दा समेत पानी अभावकै कारण रोपाइँ गर्न नपाएको उनको दुःखेसो छ । ‘बीउ दुई महिना बूढो भइसक्यो, न वर्षा भइरहेको छ, न त नहरको पानी पाउन सकेका छौं,’ उनले भने, ‘यस वर्ष खडेरीको सामना गर्नुपर्ने भयो जस्तो छ, हामी किसान समस्यामा परेका छौं ।’
कृषि ज्ञान केन्द्रका अनुसार सर्लाहीमा यस वर्ष ४० हजार हेक्टरमा धान खेती हुने गरेको छ । असारको पहिलो हप्तादेखि सुरु हुने रोपाइँ सिञ्चित केही क्षेत्रमा मात्र भइरहेको ज्ञान केन्द्र मलंगवाका प्रमुख कमलदेव प्रसाद महतोले बताए । महतोका अनुसार बिहीबारसम्म जिल्लामा ४० प्रतिशत हाराहारीमा मात्र रोपाइँ भएको छ । जबकि गत वर्ष यही समयमा झन्डै ८० प्रतिशत रोपाइँ सकिएको थियो ।
किसानले सिँचाइ सुविधा नपाएकै कारण रोपाइँको प्रतिशत बढ्न नसकेको प्रमुख महतोले बताए । ‘सिँचाइ नपुगेका ठाउँमा खेत बाँझो हुनु स्वाभाविक हो, तर सिञ्चित क्षेत्रमा समेत खेत बाँझै छन्, जसले रोपाइँको प्रतिशत बढ्न सकेको छैन,’ उनले भने, ‘लामो समयदेखि वर्षा नहुँदा यसको असर खेती प्रणालीमा परेको छ, किसानहरूको चिन्ता बढाएको छ ।’
