महोत्तरी — गौशाला नगरपालिका–१२ का किसान विद्यायानन्द रायले २ बिघामा कतरनी र हर्दिनाथ जातको धान लगाएका छन् । इनार र बोर्डिङबाट मोटर राखी सिँचाइ गरेर प्रति कठ्ठा पटक–पटक जोताइ १ हजार, रोपाइँ १ हजार, मल ५ सय, सिँचाइ ५ सय खर्च गरी रोपेको धान सुक्न थालेको छ ।
मोटर चलाएर सिँचाइ गर्न खेतमै विद्युत् छ । तर भोल्टेज नहुँदा पानी नै मोटरले तान्न छोडेको छ । वर्षा नहुनु र सिँचाइ गर्न विद्युत्को भोल्टेज नहुँदा रोपेको धान फल्ने हो कि ? खेतमै सुक्ने रायको समस्या यहाँका किसानको साझा समस्या बनेको छ । बोर्डिङबाट सिँचाइ गरी रोपिएको धान सुक्नबाट बचाउन किसानलाई धौधौ परेको छ । रोपिएको धान सिँचाइ गर्न रातदिन मोटर र पम्पसेट चलाउनुपरेको छ । राति पानी लगाएको खेत भोलिपल्ट नै सुक्न थालेपछि किसान चिन्तित छन् ।
बर्दिबास–जलेश्वर सडकखण्डको औरहीदेखि जलेश्वरसम्म बस्ती क्षेत्र छोडेर धान खेती हुने फाँट यो वर्ष खाली छ । खेतहरू सुक्खा छन् । सामान्य झरीले गर्मी कम भएर शीतल भए पनि खेतमा पानी नलाग्दा किसानको पीडा भने दिनदिनै बढ्दो छ । पर्याप्त वर्षा नहुँदा धानको बीउ सुक्न थालेको छ ।
रायले भने, 'असारमा रोपाइँ भएर विगतका वर्षमा हरियो फाँट देखिने खेतहरू अहिले सुक्खा छन् । पर्याप्त वर्षा नहुँदा रोपाइँ नहुँदा खनिएको आली र जोताइ गरेर तयार पारिएको खेत धुलाम्मे अवस्थामा छ । सडकबाट देखिने खेतहरू धान रोप्न तयार छन् । दुई बिघाको अन्तरमा धानको ब्याड मात्रै हरियो र फाँट सुख्खा देखिन्छ ।'
महोत्तरीमा ४० हजार हेक्टरमा धान खेती हुन्छ । धान खेती हुने क्षेत्रमध्ये करिब २० प्रतिशत क्षेत्रमा किसानले पम्पसेटबाट सिँचाइ गरी धान लगाएको कृषि ज्ञान केन्द्र महोत्तरीका प्रमुख देवानन्द राय यादवले बताए ।
'वर्षा नभएर धान रोप्ने ब्याड सुक्न थालेपछि बोर्डिङ, इनार र पानी भएको नदीमा किसानले दमकल, मोटर लगाएर धान रोप्न थालेका छन्,' कृषि ज्ञान केन्द्रका प्रमुख यादवले भने, ‘महोत्तरीमा नहर छैन । वर्षाको पानीमा धान रोप्ने प्रतीक्षामा किसान थिए । वर्षा नभएपछि बोर्डिङ, इनार र पानी भएको नदीबाट सिँचाइ गरी थोरै–थोरै धान रोप्न थालिएको छ ।’ एकडारा, पिपरा, मनरासिसवा, जलेश्वर, रामगोपालपुर, गौशाला, सोनमा, सम्सी लगायतका पालिकामा विगतको वर्षजस्तो धान रोपाइँ हुन सकेको छैन ।
