यातायात कार्यालय लहानद्वारा एक वर्षमा साढे ५१ करोड राजस्व संकलन

श्रावण १, २०८२

विनय आजाद

51.5 million revenue collection in one year by Transport Office Lahan

सिरहा — यातायात व्यवस्था कार्यालय, लहानले एक वर्षमा ५१ करोडबढी राजस्व संकलन गरेको छ । कार्यालयले आर्थिक वर्ष २०८१/८२ मा ५१ करोड ६६ लाख ३६ हजार ५ सय ५० रुपैयाँ राजस्व संकलन गरेको हो ।

कार्यालयका अनुसार सवारी करबाट ३८ करोड ३३ लाख ७५ हजार ६ रुपैयाँ, सवारी चलक अनुमतिपत्र तथा सवारी दर्ता किताब दस्तुरबाट १० करोड ५० लाख ६९ हजार ७ सय ३२ रुपैयाँ राजश्व संकलन भएको छ ।

यस्तै, यातायात क्षेत्रको आम्दानी शीर्षकबाट ८४ लाख ४२ हजार ६ सय २० रुपैयाँ, आयकरबाट १ करोड ९० लाख २० हजार ७ सय ७३ रुपैयाँ, प्रशासनिक दण्ड जरिवाना तथा जफतबाट ८ हजार ५ सय ५० रुपैयाँ संकलन भएको कार्यालयले जनाएको छ ।

यसैगरी, अन्य प्रशासनिक सेवा शुल्क २ लाख ८८ हजार ६ सय रुपैयाँ, कम्पनी रजिस्ट्रेसन शुल्क ३ लाख २७ हजार १ सय ५० रुपैयाँ र सडक निर्माण तथा सम्भार दस्तुरबाट १८ हजार रुपैयाँ संकलन भएको छ । जसमध्ये ४९ करोड ७५ लाख ९७ हजार ७ सय ७७ संघ सरकार र १ करोड ९० लाख ३८ हजार ७ सय ७३ प्रदेश सरकारको खातामा जम्मा भएको छ ।

यस वर्ष संकलन भएको कुल राजस्व गत वर्षभन्दा १ करोड २४ लाख ११ हजार ७ सय ७२ रुपैयाँ बढी हो । आर्थिक वर्ष २०८०/८१ मा ५० करोड ४२ लाख २४ हजार ७ सय ७८ रुपैयाँ राजस्व संकलन भएको थियो ।

विनय आजाद आजाद कान्तिपुरका सिराहा संवाददाता हुन् ।

Link copied successfully